हिमालयन पावर पार्टनरको लिलामी शेयरको बोलपत्र खुला

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको अवितरित हकप्रद शेयरको लिलाम बिक्रीका लागि आज जेठ २७ गतेदेखि बोलपत्र खुला भएको छ। बोलपत्र असार ४ गतेसम्म पेश गर्न सकिनेछ।
कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गर्दा ४ लाख ६८ हजार ७४० कित्ता हकप्रद शेयर बिक्री नभई बाँकी बसेको थियो। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकेर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको हो।
यसमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० अंकले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिट लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा पाइनेछ।
यसका साथै ग्लोबल आइएमई बैंकका बिर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आर्दशनगर–वीरगंज, हेटौंडा, नारायणगढ, न्यूरोड–पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगंज–त्रिभुवनचोक, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा प्राप्त गर्न र बुझाउन सकिनेछ।












