टोखास्थित गार्मेन्टमा आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा बुधबार बिहान आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार विद्युत सर्ट भएर बिहान अन्दाजी २ः५२ बजे आगलागी भएको थियो। आगो नियन्त्रणका लागि ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा अन्य निकाय परिचालन गरिएको थियो। करिब ५ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीबाट सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज पूर्ण रूपमा नष्ट भएको छ। साथै अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको छ। त्यसैगरी लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई वटा घरमा आंशिक क्षति भएको जनाइएको छ।
प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब ८ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। यद्यपि क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।












