चिट काट्नमै व्यस्त छन् ट्राफिक, जनतालाई जामको सास्ती

२७ जेष्ठ २०८३, बुधबार १४:०३

काठमाडौं । सडक दुर्घटना नियन्त्रण र ट्राफिक व्यवस्थापनको जिम्मेवारी बोकेको ट्राफिक प्रहरी पछिल्लो समय सवारी चालकलाई कारबाही गर्ने कार्यमा अत्यधिक केन्द्रित भएको आरोप बढ्दै गएको छ। सडकमा बढ्दो जाम, अव्यवस्थित पार्किङ, अस्तव्यस्त सार्वजनिक यातायात र कमजोर व्यवस्थापनका समस्या यथावत् रहँदा ट्राफिक प्रहरीको प्राथमिकता भने चिट काट्ने अभियानमा सीमित भएको भन्दै सर्वसाधारणले प्रश्न उठाउन थालेका छन्।

राजधानी काठमाडौंसहित देशका प्रमुख सहरमा दैनिक हजारौं सवारीसाधन ट्राफिक नियम उल्लंघनको अभियोगमा कारबाहीमा पर्ने गरेका छन्। नियम पालना गराउन कारबाही आवश्यक भए पनि त्यसको प्रभाव सडक अनुशासन र दुर्घटना न्यूनीकरणमा कति परेको छ भन्ने विषयमा बहस चर्किँदै गएको छ।

सडकमा निस्कने सर्वसाधारणले दिनहुँ घण्टौं जाम खेप्नुपरेको अवस्था छ। मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा सवारी साधन लामो समय रोकिइरहन्छन्। कतिपय स्थानमा सडक साँघुरो, निर्माणाधीन सडकको अस्तव्यस्त अवस्था, जथाभावी पार्किङ र कमजोर समन्वयका कारण सवारी आवागमन थप प्रभावित हुने गरेको छ। यस्ता समस्याको दीर्घकालीन समाधान खोज्नुभन्दा तत्काल कारबाहीलाई प्राथमिकता दिइएको गुनासो बढ्दो छ।

सडक सुरक्षाको मूल उद्देश्य दुर्घटना रोकथाम भए पनि पछिल्ला वर्षहरूमा दुर्घटनाको संख्या अपेक्षित रूपमा घट्न सकेको छैन। यसले केवल जरिवाना र कारबाहीमात्रै पर्याप्त उपाय नभएको संकेत गरेको देखिन्छ। काठमाडौं उपत्यकामा सवारीसाधनको संख्या तीव्र गतिमा बढिरहेको छ। तर त्यसअनुसार सडक विस्तार, सार्वजनिक यातायातको सुधार र ट्राफिक व्यवस्थापन प्रणालीको आधुनिकीकरण हुन सकेको छैन। परिणामस्वरूप सडकमा नागरिकले दैनिक रूपमा जाम, धुलो, प्रदूषण र समयको क्षति भोगिरहेका छन्।

सडक दुर्घटनाले हरेक वर्ष ठूलो मानवीय तथा आर्थिक क्षति पुर्‍याइरहेको अवस्थामा केवल चिट काट्ने अभियानले मात्र अपेक्षित परिणाम दिन नसक्ने स्पष्ट देखिएको छ। आज मात्रै २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघनमा २ हजार ३३७ जना चालक कारवाहीमा परेका छन् भने उनीहरूबाट २१ लाख १८ हजार रुपैयाँ जरिवाना संकलन भएको छ।

ट्राफिक प्रहरीले उपत्यकामा गर्ने कारवाही मात्र हेर्ने हो भने पनि दैनिकजसो २५ सयको हाराहारीमा सवारी चालकहरू कारवाहीमा पर्ने गरेका छन् भने लाखौं रुपैयाँ जरिवाना बापत असुल भइरहेको छ। देशैभरका प्रमुख शहरहरूमा ट्राफिक प्रहरी सक्रिय भएर खटिएका हुन्छन् र जरिवाना पनि गरिन्छ। तर दुर्घटनाको ग्राफ भने घट्न सकेको देखिंदैन। नेपाल प्रहरीका अनुसार जेठ २६ गते एकदिनमै सवारी दुर्घटनाका कारण २ जनाले ज्यान गुमाएका छन् भने ७२ जना घाइते भएका छन्। जेठ २५ गते त झनै ६ जनाले ज्यान गुमाए भने १४५ जना घाइते भए।

गत वैशाख महीनाको मात्रै तथ्यांक हेर्ने हो भने सडक दुर्घटनामा परी २३९ जनाले ज्यान गुमाए भने ७५२ जना गम्भीर घाइते भए र ३ हजार २२० जना साधारण घाइते भए। दुर्घटनामा प्रमुख कारण तीव्र गति, चालकको असक्षमता, हतारमा बाटो काट्नु, मापसे र अनावश्यक ओभरटेक आदि रहेको प्रहरीले जानकारी दिएको छ। वैशाख महीनाभर १ लाख ३७ हजार ९४ जनालाई कारवाही गरी त्यसबाट ११ करोड ८२ लाख ७४ हजार १८९ रुपैयाँ जरिवाना भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदीले दुर्घटना नहोस् भनेरै ट्राफिक प्रहरी सडक सुरक्षा, नागरिक सचेतना र कानून कार्यान्वयका लागि खटिएको बताए। “सडक प्रयोग गर्दा ट्राफिक नियम पालना गराउनकै लागि फिल्डमा खटिएको हो। जबसम्म सवारी चलाउँदा नियम पालन गरिंदैन तबसम्म दुर्घटनामा कमी आउँदैन।” उनले भने। “पूर्वाधारको कमजोरी र वातावरणीय कारणबाट पनि दुर्घटना हुन्छ तर पछिल्लो तथ्यांक हेर्दा तीव्र गति, मापसे, लापरवाही आदिको कारण बढी दुर्घटना भएको देखिन्छ।” उनले भने। उनले ट्राफिक प्रहरीले सडक सुरक्षा र नागरिक सचेतनाकै लागि नियम उल्लंघन गर्नेलाई कारवाही गर्ने गरिएको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*