अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो नवप्रभात डेरी, उत्कृष्ट कृषि उद्योग पुरस्कारबाट सम्मानित

२७ जेष्ठ २०८३, बुधबार १८:२३

काठमाडौं । भारतको सोसाइटी फर कम्युनिटी मोबिलाइजेसन फर सस्टेनेबल डेभलपमेन्ट तथा नेपालको नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलको संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट नवप्रभात डेरी उद्योगलाई उत्कृष्ट कृषि उद्योग पुरस्कार प्रदान गरिएको छ।

“महिला तथा युवामार्फत कृषि व्यवसाय पारिस्थितिक प्रणालीको रूपान्तरण” भन्ने मूल विषयमा आयोजित उक्त सम्मेलनमा एशियाका विभिन्न मुलुकका कृषि विज्ञ, सरकारी प्रतिनिधि, उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनका क्रममा कृषि, उद्योग तथा व्यवसायका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न देशका विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। नेपालको तर्फबाट भने ललितपुरको पाटन औद्योगिक क्षेत्रमा अवस्थित नव प्रभात डेरी उद्योगलाई उत्कृष्ट कृषि उद्योगका रूपमा सम्मानित भएको हो।

उक्त पुरस्कार डेरी उद्योगका तर्फबाट प्रल्हाद दाहालले ग्रहण गरेका थिए। नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलका अध्यक्ष डा. योगेन्द्र कार्कीका अनुसार कृषि तथा दुग्ध क्षेत्रको विकास, किसानको समृद्धि तथा स्वदेशी उत्पादनको प्रवर्द्धनमा नव प्रभात डेरी उद्योगले पुर्याएको निरन्तर योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो। यस अवसरमा डेरी उद्योगका कार्यकारी निर्देशक सुरेश तिमल्सिनाले प्राप्त सम्मान सम्पूर्ण नेपाली कृषक, दुग्ध उत्पादक, उद्यमी तथा शुभेच्छुकहरूमा समर्पित रहेको बताए। उनले यो सम्मानले कृषि तथा दुग्ध क्षेत्रको विकासमा अझ जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न थप प्रेरणा प्रदान गरेको उल्लेख गरे। पाटन औद्योगिक क्षेत्रमा अवस्थित नव प्रभात डेरी उद्योग अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त डेरी उद्योग हो।

उद्योगले हाल दैनिक करिब २५ हजार लिटर दूध प्रशोधन तथा खपत गर्दै आएको छ। उद्योग मार्फत दैनिक करिब १७ लाख रुपैयाँ शहरबाट गाउँतर्फ आर्थिक प्रवाह भइरहेको बताइएको छ। डेरी उद्योगका अध्यक्ष खुल प्रसाद हुमागाईंका अनुसार उद्योगले ‘प्रभात’ ब्रान्डमा दूध तथा विभिन्न दुग्धजन्य उत्पादनहरू काठमाडौं उपत्यका सहित देशका विभिन्न बजारमा बिक्री वितरण गर्दै आएको छ।

प्रबन्ध निर्देशक सुरेश तिमल्सिनाले यस सम्मानलाई उद्योगले विगतदेखि उद्योगले गर्दै आएको सकारात्मक कार्यको प्रतिफलका रूपमा लिएको बताउँदै नवप्रभात डेरी उद्योगले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा प्रशंसापत्र प्राप्त गरिसकेको जानकारी दिए। उक्त सम्मानले नेपालको दुग्ध उद्योग तथा स्वदेशी उत्पादन प्रवर्द्धनमा नवप्रभात डेरी उद्योगले पुर्याउँदै आएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गरेको विश्वास व्यक्त गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*