धितोपत्र बोर्ड अध्यक्षविहीन रहेको भन्दै संसदमा उठ्यो प्रश्न

२९ जेष्ठ २०८३, शुक्रबार १२:१०

काठमाडौँ । प्रतिनिधि सभामा नेपाल धितोपत्र बोर्ड (सेबोन) लामो समयदेखि अध्यक्षविहीन रहेको विषय उठाइएको छ। सांसद अम्बिकादेवी संग्रौलाले बोर्डमा अध्यक्ष नियुक्ति हुन नसक्दा पुँजी बजारको नियमन तथा व्यवस्थापन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद संग्रौलाले सरकारले अध्यादेशमार्फत विभिन्न सार्वजनिक संस्थान तथा निकायमा रहेका १५०० भन्दा बढी राजनीतिक नियुक्तिहरू खारेज गरेको स्मरण गराउँदै त्यसपछिको व्यवस्थापनमा सरकार असफल भएको टिप्पणी गरिन्।

उनले राजनीतिक नियुक्ति हटाउने निर्णयलाई सकारात्मक कदमका रूपमा स्वीकार गरे पनि रिक्त पदहरूमा समयमै नयाँ नियुक्ति गर्न नसक्नु सरकारको अपरिपक्वता भएको बताइन्। एक महिनाभन्दा बढी समय बितिसक्दा पनि विभिन्न संस्थाहरूमा नेतृत्व नियुक्त हुन नसकेको उनको भनाइ थियो।

सांसद संग्रौलाले महत्वपूर्ण सार्वजनिक संस्थाहरू लामो समयसम्म नेतृत्वविहीन हुँदा तिनको दैनिक कार्य सञ्चालन, नीति निर्माण तथा सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने बताइन्। रिक्त पदका कारण संस्थागत निर्णय प्रक्रिया प्रभावित हुने र सरकारको कार्यक्षमता तथा नियतमाथि समेत प्रश्न उठ्न सक्ने उनको धारणा थियो।

यस क्रममा उनले करिब ४५ खर्ब रुपैयाँ बराबरको पुँजी बजारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड नै अध्यक्षविहीन रहेको विषय विशेष रूपमा उठाइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*