डीएफएसी डोङफेङ र कामा भ्यान नेपाली बजारमा लोकप्रिय, त्रिवेणी मोटोकर्पको व्यापार साढे ७३ करोड

काठमाडौँ । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी मोटोकर्पले वर्षदिनको अवधिमा साढे ७३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । डीएफएसी डोङफेङ र कामा ब्रान्डका भ्यानहरूको नेपालमा आधिकारिक बिक्री–वितरण गर्दै आएको कम्पनीले सन् २०२५ मा ७३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।
सन् २०२४ मा कम्पनीको कुल कारोबार १३ करोड ४० लाख रुपैयाँमा सीमित रहेकोमा एक वर्षमै कारोबार करिब धेरै गुणाले विस्तार भएको देखिन्छ । सन् २०२३ नोभेम्बर ६ मा दर्ता भई सन् २०२४ को मध्य अप्रिलदेखि औपचारिक व्यावसायिक सञ्चालन सुरु गरेको त्रिवेणी मोटोकर्पले प्रारम्भिक चरणमै बजारमा आक्रामक प्रवेश गर्दै आफ्नो उपस्थिति मजबुत बनाएको हो । २०८१ साउनदेखि कम्पनीले कामा ब्रान्डका ११ र १४ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबसहरूको बिक्री–वितरणलाई थप तीव्र बनाएको छ ।
कम्पनीले नेपालमा डीएफएसी डोङफेङ ब्रान्डका सवारी साधन तथा त्यसका स्पेयर पार्ट्सका साथै कामा ब्रान्डका विद्युतीय भ्यानहरूको आधिकारिक वितरण गर्दै आएको छ । उच्च गुणस्तर, आधुनिक फिचर र व्यवसायिक प्रयोगका लागि उपयुक्त सवारी साधनका कारण यी ब्रान्डहरू नेपाली बजारमा क्रमशः लोकप्रिय बन्दै गएको छ । प्रतिस्पर्धात्मक बजारमा छोटो समयमै बलियो उपस्थिति जनाउँदै कम्पनीले व्यवसायिक विस्तारलाई तीव्र गतिमा अघि बढाइरहेको छ ।
नाफा संरचनातर्फ विश्लेषण गर्दा कम्पनीको ब्याज, कर, मूल्यह्रास र परिशोधन अघिको आम्दानी मार्जिनमा समेत सुधार देखिएको छ । सन् २०२४ मा ४.७२ प्रतिशत रहेको यो मार्जिन सन् २०२५ मा बढेर ६.९८ प्रतिशत पुगेको छ ।
कम्पनीको व्यापार बढेपनि ऋणको आकार पनि उच्च रहेको देखिएको छ । कम्पनीको ऋण चुक्तापूँजी साढे ५ गुणा बढी रहेको देखिएको हो । कुल ऋण अनुपात सन् २०२४ मा ३.२२ गुणा रहेकोमा सन् २०२५ मा बढेर ५.४० गुणा पुगेको छ ।

त्यस्तै, ब्याज भुक्तानी क्षमतामा भने उल्लेखनीय गिरावट आएको छ । सन् २०२४ मा १८.७६ गुणा रहेको यो सूचक सन् २०२५ मा घटेर २.८२ गुणामा झरेको छ । चालु अनुपाततर्फ पनि केही कमजोरी देखिएको छ जहाँ सन् २०२४ को १.२१ गुणा सन् २०२५ मा घटेर १.१३ गुणा पुगेको छ । तर, कुल ऋण र नगद प्रवाह अनुपातमा भने सुधार देखिएको छ । जुन सन् २०२४ मा ४०.६९ गुणा रहेकोमा सन् २०२५ मा घटेर २०.३४ गुणामा सीमित भएको छ ।
व्यापारिक विस्तारसँगै कम्पनीले नेपालका प्रमुख शहरहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै लगेको छ । हाल त्रिवेणी मोटोकर्पसँग ललितपुर, पोखरा, चितवन, बुटवल, कास्की, बिर्गन्ज, धनगढी र झापा लगायतका स्थानहरूमा गरी कुल १८ वटा डिलरहरू सञ्चालनमा छन् । यसका अतिरिक्त कम्पनीसँग आफ्नै स्वामित्वमा रहेको शोरुम तथा सेवा केन्द्र पनि छ ।
कम्पनीको नेतृत्व अध्यक्ष शैलेश सांघाईले गर्दै आएका छन् ।












