शेयर काण्डको संगठित चलखेलले ११ कम्पनीमा ठूलो क्षति, यी ८१ प्रतिवादीविरुद्ध क्षतिपूर्ति माग

२९ जेष्ठ २०८३, शुक्रबार १४:२०

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको बीमा कसुर सम्बन्धी अभियोगपत्रमा प्रतिवादीहरूको योजनाबद्ध र संगठित रूपमा भएको भनिएको धितोपत्र कारोबारबाट विभिन्न पब्लिक कम्पनीहरूलाई ठूलो क्षति पुगेको दाबी गरिएको छ। नेपाल धितोपत्र बोर्ड सुपरिवेक्षण विभागको पत्र संख्या सु.वि. २०८२।८३ चलानी नं ३३९१ मिति २०८३।०२।१३ समेतका आधारमा गरिएको मूल्यांकनअनुसार उक्त कारोबारबाट कुल ११ वटा कम्पनीलाई क्षति पुगेको उल्लेख गरिएको हो ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेड, हिमालय सेक्युरिटिज बैंकर, हिमालयन क्यापिटल सर्भिसेस, हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन इन्भेष्टमेन्ट बैंकर, एचएलआई लार्ज क्याप फन्ड, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लगायतका सार्वजनिक कम्पनीहरूलाई प्रतिवादीहरूको कार्यबाट आर्थिक तथा संस्थागत क्षति पुगेको देखिएको उल्लेख गरिएको छ।

अभियोग पत्रमा ‘प्रतिवादीहरूले एक आपसमा मिलेमतो गरी निश्चित व्यक्ति तथा समूहलाई मात्र लाभ हुने उद्देश्यले योजनाबद्ध रूपमा संगठित भई धितोपत्र सम्बन्धी ऐन, २०६३ विपरीत कार्य गर्दै शेयर कारोबार गरेका थिए। यस्तो कारोबारका कारण सार्वजनिक कम्पनीहरूको पुँजीमा सर्वसाधारणको लगानी जोखिममा परेको, लगानीकर्ताले उचित प्रतिफल नपाएको तथा कम्पनीहरूको बजार मूल्यमा अस्वाभाविक उतारचढाव आई संस्थागत विश्वसनीयता कमजोर भएको छ।’

बीमा कम्पनीहरूको हकमा प्रिमियम तथा जगेडा कोषको दुरुपयोग हुँदा बीमितहरूको दाबी भुक्तानीमा अवरोध आउन सक्ने, कम्पनीहरूको आर्थिक अवस्था कमजोर हुने तथा समग्र वित्तीय प्रणालीमा नै गम्भीर असर पर्न सक्ने जोखिम उत्पन्न भएको अभियोग पत्रमा उल्लेख गरिएको छ। बीमा कम्पनीहरूले सर्वसाधारणबाट संकलन गरेको रकम सुरक्षित रूपमा भविष्यको जोखिम व्यवस्थापनका लागि राख्ने भएकाले त्यसको दुरुपयोगले सम्पूर्ण क्षेत्रमा गम्भीर प्रभाव पार्ने भनिएको छ।

उक्त कसूरमा संलग्न सार्वजनिक कम्पनी तथा तिनका सहायक कम्पनीहरूबीच आपसी शेयर खरिद–बिक्रीमा कम्पनीका पदाधिकारीहरूको समेत मुख्य संलग्नता रहेको देखिएको उल्लेख गरिएको छ।

अभियोग पत्रअनुसार प्रतिवादी शुलभ अग्रवालले निश्चित व्यक्ति तथा संस्थाबीच समूह निर्माण गरी शेयर कारोबारका लागि आवश्यक वित्तीय स्रोत समेत जुटाएर संगठित तथा योजनाबद्ध रूपमा शेयर मूल्यमा अस्वाभाविक उतारचढाव गराई उल्लेखित कम्पनीहरूलाई क्षति पुर्‍याउने कार्यमा प्रमुख भूमिका निर्वाह गरेको देखिएको छ।

त्यसैगरी प्रतिवादी सन्दिप चाचन अग्रवालले अन्य संलग्न व्यक्ति तथा सम्बन्धित संस्थासँग मिलेर भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि.मार्फत सक्रिय सहजकर्ताको रूपमा काम गर्दै आपसी कारोबारलाई सहज बनाएको अभियोग पत्रमा उल्लेख छ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०५ बमोजिम प्रतिवादीहरू ८१ व्यक्तिहरू संलग्न रहेको दाबी गरिएको छ। तीमध्ये आशिष श्रेष्ठ, प्रविना दाहाल, सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, मृगेन्द्रनाथ रिमाल, सुजल मल्ल, ऋषिराज मोर, मृदुला सरिया, रोहित करण वैद्य, विदुर पुरी, पवित्रलाल चुके, विनोद नरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुनिता महर्जन, प्रतापमान श्रेष्ठ, निकोलस पाण्डे, बलराम खत्री, मनिष तिमिल्सिना, नेहा अग्रवाल, आशिष सिंह, रामकुमार यादव, देवेन्द्र धिताल, कृतिका अग्रवाल, दिनेश सरिया, निरु दाहाल, नितेश मालपानी, गणेशराज पन्त, भानुभक्त पोखरेल, नरेशकुमार रोका, दिपेश कुमार श्रेष्ठ, शुलभ अग्रवाल, सचिन आचार्य, सौरभ दुगड, राजिव प्रसाद प्याकुरेल, प्रमिला केसी, दिगम्बर झा, आशिष ढकाल, कपिलकुमार दाहाल, लक्ष्मण ज्ञवाली, विवेककुमार शाह, मनोजकुमार लाल कर्ण, राजन प्रसाद अधिकारी, विनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानाङ्ग, सुमेर शमशेर जबरा, सुवास पौडेल, सालिनी सांघाई, प्रतिक जोशी, उदिप श्रेष्ठ, जयप्रकाश जयसवाल, उदयनारायण भट्टराई, त्रिशिला झुनझुनवाला, प्रमोद प्रसाद भट्टराई, ज्योति अग्रवाल, नवराज मुडभरी रहेका छन् ।

साथै, चिरायु भण्डारी, ज्योति प्रकाश पाण्डे, समिर खरेल, शेखर गोल्छा, शाहिल अग्रवाल, रोहित गुप्ता, अमित मोर, राजिव मोर, सुभेच्छा खरेल, सुबासकुमार झुनझुनवाला, उपासना पौडेल, मनिषकुमार, दिपककुमार श्रेष्ठ, शिशिर गैहे, सिताराम वाग्ले, रितेश प्रधान, आकांक्षा गुप्ता, सुभाष बहादुर श्रेष्ठ, संदिप चाचन अग्रवाल, दिपक भट्ट, शुभी अग्रवाल, राजबहादुर शाह, सुधा कर्ण र राजिव ठाकुरसमेत रहेका छन्।

प्रतिवादीहरूबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (२) र (३) बमोजिम क्षतिपूर्ति भराउनुपर्ने माग दाबी लिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*