कोल्याट्रल बिनै दीपक भट्टद्वारा झण्डै ४ अर्बको शेयर कारोबार

२९ जेष्ठ २०८३, शुक्रबार १४:२५

काठमाडौं । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा पेश गरेको धितोपत्र कारोबार सम्बन्धी कसूरको अभियोगपत्रमा व्यवसायी दीपक भट्टले कोल्याट्रल बिनै ठूलो रकमको शेयर कारोबार गर्ने गरेको उल्लेख गरिएको छ।

धितोपत्र कारोबार गर्न अग्रीम भुक्तानी (कोल्याट्रल) कम्तीमा २५ प्रतिशत जम्मा गर्नु पर्नेमा दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङ कम्पनीसँग मिलेर बिना कोल्याट्रल झण्डै ४ अर्ब रुपैयाँको शेयर कारोबार गरेको अनुसन्धानमा खुलेको छ।

दलाल र भट्ट दुवैले नेपाल रिइन्स्योरेन्सको शेयरमूल्य बढाउन मिलेमतोमा त्यसरी कारोबार गर्ने गरेको देखिएको छ। भट्टले उक्त दलाल कम्पनीमार्फत गत वर्षको साउन ५ देखि चैत १ गतेसम्म विभिन्न मितिमा ३ अर्ब ८० करोड ५३ लाख रुपैयाँभन्दा बढीको शेयर किनेर ९३ करोड ६ लाख रुपैयाँ बराबर शेयर बेचेको पाइएको छ।

तर यस अवधिमा भृकुटी स्टकले दीपक भट्टबाट कुनै रकम नलिएको र हालसम्म पनि २ अब ८९ करोड २० लाख रकम उधारो कामयै रहेको सन्दर्भमा कुनै पनि रकम नलिई उधारोमा कारोबार गर्ने सुविधा दिएको अनुसन्धानमा खुलेको छ।

शेयर खरीद–बिक्रीमा रकम लेनदेन नगरी बजारमा नेपाल रिको शेयरमूल्य गत वर्षको साउन ५ देखि मंसिर २६ गतेसम्म कृत्रिम अभाव खडा गरेर शेयरमूल्य १ हजार ४६१ रुपैयाँबाट बढाएर १६८६.१० रुपैयाँ पुर्याएको आरोपपत्रमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*