अग्रिम रकमबिनै शेयर कारोबार गरी गार्डियन माइक्रो लाइफको मूल्यमा चलखेल

काठमाडौँ । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले दायर गरेको अभियोगपत्रमा सूचीकृत संगठित संस्था गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका शेयर कारोबारसँग सम्बन्धित गम्भीर अनियमितताको विवरण समेटिएको छ। प्रारम्भिक जाँचबुझ प्रतिवेदनमा उल्लेख भएअनुसार शुभी अग्रवाल र ऋषि राज मोरले अग्रिम रकम नदिई शेयर कारोबारको सीमा प्राप्त गरी कारोबार गरेको साथै शेयर कारोबारको सम्पूर्ण रकम चुक्ता नगरेको र रकम चुक्ता नभई नै शेयर आफ्ना खातामा प्राप्त गरेको देखिएको हो ।
उक्त कार्यबाट उनीहरूले खरिद गरेको शेयरको मूल्य वृद्धि हुन सहयोग पुगेको तथा लगानीकर्ता र धितोपत्र बजारलाई झुक्याउने कार्य भएको देखिएको अभियोगपत्रमा उल्लेख छ। यस क्रममा धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि.सँग मिलेर योजनाबद्ध रूपमा यस्तो कारोबार गरिएको र सोही माध्यमबाट धितोपत्र बजारमा कृत्रिम रूपमा मूल्य वृद्धि गराई लगानीकर्तालाई भ्रममा पारिएको दाबी गरिएको छ।
यसैगरी, उक्त कारोबारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड र एचएलआई लार्ज क्याप फण्डको समेत संलग्नता देखिएको उल्लेख छ। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को देहाय (क) र दफा ९८ बमोजिमको कसूर भएको हुन सक्ने निष्कर्ष निकालिएको अभियोगपत्रमा उल्लेख गरिएको छ।












