परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङ पुगेका छन्।
आइतबार राति काठमाडौँबाट प्रस्थान गरेका मन्त्री खनाल स्थानीय समयअनुसार अपराह्न चीनको राजधानी बेइजिङ आइपुगेका हुन्। उनलाई विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी सहकार्य विस्तार गर्ने उद्देश्यसहित मन्त्री खनालले आफ्नो भ्रमणका क्रममा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। साथै उनले चीनका अन्य उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको छ।
भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा समेत मन्त्री खनाल सहभागी हुनेछन्। उक्त अवसरमा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।
मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ स्वागत समारोह समेत आयोजना गर्नेछ, जहाँ उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।












