दार्चुलाको आकाशमा भारतीय सैनिक हेलिकप्टर

१ असार २०८३, सोमबार ११:४१

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु क्षेत्रको नेपाली आकाश हुँदै भारतीय सैनिक हेलिकप्टर उडेको घटना सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतीय पक्षले कुनै अनुमति नलिई नेपाली हवाई क्षेत्र प्रयोग गरेको पाइएको हो।

घटना जेठ २७ गते बिहानको भएको जनाइएको छ। भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आईटीबीपी) का महानिर्देशक शत्रुजीतसिंह कपूर सवार सैनिक हेलिकप्टर छाङरुको आकाश हुँदै कालापानी क्षेत्रतर्फ गएको स्थानीय प्रशासनले जनाएको छ।

सशस्त्र प्रहरी बलबाट प्राप्त सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले घटनाबारे गृह मन्त्रालयलाई मौखिक जानकारी गराइसकेको छ। प्रशासनले घटनासम्बन्धी थप विवरण संकलन गर्ने काम जारी राखेको र विस्तृत प्रतिवेदन सोमबार मन्त्रालयमा पठाइने जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार आईटीबीपी प्रमुख कपूर कालापानी क्षेत्रअन्तर्गत गुञ्जीस्थित ब्यारेकको निरीक्षणका लागि त्यस क्षेत्रमा पुगेका थिए। यद्यपि नेपाली पक्षसँग हेलिकप्टर उडानका लागि कुनै औपचारिक अनुमति मागिएको वा स्वीकृति लिइएको अभिलेख नभएको प्रशासनको भनाइ छ।

नेपाल र भारतबीच सीमा विवाद रहेको कालापानी क्षेत्र संवेदनशील मानिने भएकाले अनुमति बिना नेपाली आकाश प्रयोग भएको विषयलाई प्रशासनले गम्भीर रूपमा लिएको छ। घटनाबारे थप तथ्य संकलन भइरहेकाले आवश्यक विवरण गृह मन्त्रालयमार्फत संघीय तहमा पठाइने जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*