ठेकेदारलाई भौतिक मन्त्री लम्सालको चेतावनी: ‘काम नगरे खुट्टा भाँचिदिनु’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काममा कुनै पनि प्रकारको ढिलासुस्ती स्वीकार्य नहुने बताएका छन्। आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले निर्माण कम्पनी तथा सम्बन्धित निकायलाई वर्षायामका चुनौतीबीच पनि निर्माण कार्यलाई निरन्तर अघि बढाउन कडा निर्देशन दिएका हुन् ।
आइतबार आयोजना क्षेत्रको निरीक्षण गर्दै मन्त्री लम्सालले राष्ट्रिय गौरव र रणनीतिक महत्व बोकेको यस सडक आयोजनालाई निर्धारित समयभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले निर्माण कार्यमा लापरबाही गर्ने वा अनावश्यक रूपमा काम ढिलाइ गर्ने प्रवृत्ति सह्य नहुने चेतावनी दिँदै काममा तीव्रता ल्याउन निर्देशन दिए।
अनुगमनका क्रममा मन्त्री लम्सालले आक्रोश व्यक्त गर्दै “काम नगरे खुट्टा भाँचिदिनु” भन्ने अभिव्यक्ति समेत दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ। केहीले विकास निर्माणमा देखिएको सुस्त गतिप्रति मन्त्रीको असन्तुष्टि र कडा चेतावनीका रूपमा व्याख्या गरेका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिले हिंसात्मक भाषा प्रयोग गर्नु उपयुक्त नभएको टिप्पणी गरेका छन्।
मन्त्री लम्सालले आयोजनामा देखिएका समस्या तथा अवरोध समाधान गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। आयोजना निर्माणमा संलग्न सबै पक्षबीच प्रभावकारी समन्वय भएमा निर्धारित समयमै काम सम्पन्न गर्न सकिने उनको भनाइ थियो।












