टेम्पो भीरबाट खसाएको घट्नाको अनुसन्धान शुरु, १२ जना वन कर्मचारी पक्राउ

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ गोदावरी सामुदायिक वनस्थित भीमदत्त राजमार्ग सडक खण्डको गाईमारे भन्ने स्थानमा टेम्पोलाई भीरबाट खसाएको घट्नामा प्रहरीले अनुसन्धान शुरु गरेको छ।
गाईमाराको सडक किनारामा वनजंगल अतिक्रमण गरी राखेको टेम्पोलाई वनका कर्मचारीहरूले भीरबाट खसाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
डिभिजन वन कार्यालय कैलालीले यस घटनाको स्पष्टीकरण दिंदै उक्त सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैरकानूनी ढंगले भागबण्डा गरी भित्रि रूपमा बेचबिखन गर्ने र खोका–छाप्राहरू खडा गरी सरकारी वन जमीन अतिक्रमण गर्ने श्रृंखला लामो समयदेखि चल्दै आएको बताएको छ।
“यसै क्रममा विगत ५ महीना अघिदेखि सो क्षेत्रमा पुनः अवैध खोका–छाप्राहरू वडा गरिएका थिए। सामाजिक सञ्जालमा प्रचार गरिएको जस्तो उक्त टेम्पो कुनै गुड्ने वा चालु हालतमा रहेको सवारीसाधन नभई चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको र धकेलेर सार्न समेत गाह्रो हुने फलामे अस्थिपञ्जर मात्र थियो जसलाई केवल वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले पसलको टहरो (खोका) को रूपमा त्यहा स्थापना गरिएको थियो।” प्रेश विज्ञप्तिमा लेखिएको छ।
“सो कवाडी ढाँचालाई एक महीना अगाडि नै हटाउन निर्देशन दिंदा सँगैका अन्य १० छाप्राहरू हटे तापनि सो कथित टेम्पोका सञ्चालक घनश्याम धामीले अटेर गरी नहटाएकोमा वन कर्मचारीहरूले धकेलेर उक्त टेम्पोलाई निजको घरसम्म पुर्याई दिएका थिए। तत् पश्चात् उक्त टेम्पो निजले पुनः सोही ठाउँमा त्याई राखी पसल सञ्चालन गर्दै आएका थिए। यस पटक पनि उक्त टेम्पोलाई हटाउन निर्देशन दिंदा निजले टेम्पो नहटाउने जे गरे गर्नुस् भन्दै अटेर गरी गालीगलौजमा उत्रेका थिए।” विज्ञप्तिमा उल्लेख छ।
वन कार्यालयले अतिक्रमण हटाउने अभियान चलिरहेको अवस्थामा वन कार्यालयको टोलीले सो गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको र सोही क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो कवाडी टेम्पोको अस्थिपञ्जर अनियन्त्रि भई दुर्घटनावश भीरबाट खस्न पुगेको स्पष्टीकरण दिएको छ।
यद्यपि जनस्तरबाट तीव्र आलोचना आएपछि प्रहरीले घट्नाको अनुसन्धान शुरु गरेको छ। अनुसन्धानको क्रममा जेठ ३१ गते डिभिजन वन कार्यालय कैलाली र सव डिभिजन वन कार्यालय अत्तरिया कैलालीबाट १२ जना वन कर्मचारीहरूलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर आवश्यक सोधपुछ कार्य भइरहेको जनाएको छ।












