डिजिटल नेपालतर्फ तीव्र फड्को, ब्रोडब्यान्ड प्रयोगकर्ता ४ करोड ५२ लाख नाघे

१ असार २०८३, सोमबार १५:५२

काठमाडौं । नेपालमा इन्टरनेट सेवाको पहुँच तीव्र गतिमा विस्तार हुँदै जाँदा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या साढे ४ करोड नाघेको छ। पछिल्ला वर्षहरूमा मोबाइल ब्रोडब्यान्ड र फाइबर इन्टरनेटको द्रुत विस्तारसँगै देशभर डिजिटल पहुँच उल्लेखनीय रूपमा बढेको देखिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको वैशाख २०८३ सम्मको दूरसञ्चार सूचकसम्बन्धी प्रतिवेदनअनुसार नेपालमा कुल ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ४ करोड ५२ लाख १९ हजार ९६ पुगेको छ। यो संख्या नेपालको कुल जनसंख्याको १५५ प्रतिशतभन्दा बढी हो। एक व्यक्तिले एकभन्दा बढी इन्टरनेट सेवा प्रयोग गर्ने प्रवृत्तिका कारण ब्रोडब्यान्ड पहुँच जनसंख्याभन्दा माथि पुगेको हो।

त्यसैगरी, भ्वाइस टेलिफोनी अर्थात् मोबाइल तथा टेलिफोन सेवाका कुल सक्रिय ग्राहकको संख्या ३ करोड २ लाख ४८ हजार ९ सय ५८ पुगेको छ। यो नेपालको कुल जनसंख्याको १०३ दशमलव ७१ प्रतिशत बराबर हो।

भ्वाइस टेलिफोनी बजारमा नेपाल टेलिकमले आफ्नो अग्रता कायम राखेको छ। प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमको बजार हिस्सा ५३ दशमलव ५८ प्रतिशत रहेको छ। कम्पनीका कुल ग्राहक १ करोड ६२ लाख ८ हजार ४ सय ७४ पुगेका छन्। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ४६ दशमलव ४१ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमा रहेको छ। वैशाख मसान्तसम्म एनसेलका कुल ग्राहक १ करोड ४० लाख ३९ हजार ३ सय २ पुगेका छन्।

अन्य साना सेवा प्रदायकहरूको बजार हिस्सा भने अत्यन्त न्यून रहेको छ। उनीहरूको हिस्सा शून्य दशमलव शून्य शून्य चार प्रतिशत मात्र रहेको छ भने ग्राहक संख्या १ हजार १ सय ८२ रहेको छ।

समग्र भ्वाइस सेवामा मोबाइल प्रविधिको वर्चस्व कायम छ। कुल ग्राहकमध्ये २ करोड ९८ लाख ३१ हजार ६ सय ८ जना मोबाइल सेवामा आबद्ध छन्, जुन कुल भ्वाइस बजारको ९८ दशमलव ६२ प्रतिशत हो। परम्परागत तारयुक्त टेलिफोन प्रयोगकर्ताको संख्या ४ लाख १६ हजार १ सय ६८ मात्र रहेको छ, जसको हिस्सा १ दशमलव ३७ प्रतिशतमा सीमित छ।

इन्टरनेट बजारतर्फ मोबाइल ब्रोडब्यान्ड र फाइबर इन्टरनेटको प्रभाव अझ बलियो देखिएको छ। कुल ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये मोबाइल ब्रोडब्यान्डको हिस्सा ८८ दशमलव ७४ प्रतिशत रहेको छ भने तारयुक्त ब्रोडब्यान्डको हिस्सा ११ दशमलव १५ प्रतिशत छ।

मोबाइल इन्टरनेट सेवामा चौथो पुस्ताको मोबाइल प्रविधि उपभोक्ताको मुख्य रोजाइ बनेको छ। चौथो पुस्ताको मोबाइल सेवाका ग्राहक संख्या २ करोड ६७ लाख ३३ हजार २ सय ८ पुगेको छ। यसविपरीत तेस्रो पुस्ताको मोबाइल सेवा प्रयोगकर्ता संख्या घट्दै ७ लाख ६५ हजार ३ सय ४४ मा झरेको छ। मोबाइल ब्रोडब्यान्ड बजारमा नेपाल टेलिकमको हिस्सा ५५ दशमलव ५८ प्रतिशत र एनसेलको हिस्सा ४४ दशमलव ४२ प्रतिशत रहेको छ।

तारयुक्त ब्रोडब्यान्डतर्फ फाइबर इन्टरनेटको विस्तार उत्साहजनक देखिएको छ। देशभर फाइबर इन्टरनेट जडानको संख्या ३४ लाख ५६ हजार १ पुगेको छ। प्राधिकरणले एक इन्टरनेट जडानबाट औसत ४ दशमलव ३७ जना प्रयोगकर्ता लाभान्वित हुने आधारमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ५१ लाख २ हजार ७ सय २४ पुगेको जनाएको छ। यो नेपालको कुल जनसंख्याको ५१ दशमलव ७८ प्रतिशत बराबर हो।

फिक्स्ड ब्रोडब्यान्ड बजारमा वर्ल्डलिङ्क कम्युनिकेशन्सले आफ्नो नेतृत्व कायम राखेको छ। कम्पनीका १० लाख ७८ हजार ७ सय ९ ग्राहक रहेका छन्, जसले कुल बजारको ३० दशमलव ९३ प्रतिशत हिस्सा ओगटेको छ।

नेपाल टेलिकम ३ लाख ८३ हजार १ सय १ ग्राहकसहित १० दशमलव ९८ प्रतिशत बजार हिस्सा लिएर दोस्रो स्थानमा रहेको छ। डिश मिडिया नेटवर्क ३ लाख ६९ हजार २ सय १८ ग्राहकसहित १० दशमलव ५९ प्रतिशत हिस्साका साथ तेस्रो स्थानमा छ। भायानेट कम्युनिकेशन्स ३ लाख ६३ हजार ३७ ग्राहकसहित १० दशमलव ४१ प्रतिशत बजार हिस्सा लिएर चौथो स्थानमा रहेको छ।

त्यसैगरी क्लासिक टेकका २ लाख ८६ हजार ९ सय ५३ ग्राहक रहेका छन् भने कम्पनीको बजार हिस्सा ८ दशमलव २३ प्रतिशत छ। सुबिसु केबलनेट २ लाख ६४ हजार ८ सय ४९ ग्राहकसहित ७ दशमलव ५९ प्रतिशत बजार हिस्सा लिएर छैटौँ स्थानमा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*