विश्वकप हेर्ने एप भन्दै ठगी, एक क्लिकमै बैंक खाता रित्तिने !

काठमाडौं । विश्वकप फुटबल २०२६ को रौनक सुरु भएसँगै साइबर ठगीका नयाँ घटना देखिन थालेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप हेर्ने बहानामा प्रयोगकर्ताको मोबाइल बैंकिङ ह्याक गरी रकम चोरी गर्ने गिरोह सक्रिय रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
ब्यूरोका अनुसार सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममा विश्वकप २०२६ नि:शुल्क वा सहज रूपमा हेर्न सकिने भन्दै आकर्षक विज्ञापनहरू फैलाइएका छन्। ती विज्ञापनमार्फत प्रयोगकर्तालाई शंकास्पद लिङ्कमा क्लिक गर्न वा एन्ड्रोइड इन्स्टलर फाइल डाउनलोड गर्न लगाइने गरिएको पाइएको छ।
यस्ता फाइलहरू इन्स्टल गर्ने क्रममा मोबाइलमा विभिन्न अनुमति (पर्मिसन) मागिन्छ। खेल हेर्ने हतारोमा प्रयोगकर्ताले नबुझी ‘एलाउ’ गर्दा ह्याकरहरूले मोबाइलको पूर्ण नियन्त्रण लिने र बैंकिङ एपमार्फत खातामा रहेको रकम चोरी गर्ने जोखिम रहने ब्यूरोले जनाएको छ।
साइबर ब्यूरोले अनावश्यक तथा शंकास्पद एपहरू डाउनलोड नगर्न कडा आग्रह गरेको छ। विशेषगरी .apk, .exe, .bat वा .sh जस्ता फाइलहरू इन्स्टल गर्दा भाइरस प्रवेश गरी व्यक्तिगत विवरण तथा बैंकिङ सूचना चोरी हुने खतरा उच्च रहने चेतावनी दिइएको छ। बैंक तथा वित्तीय संस्थाका सेवासम्बन्धी अपडेट वा जानकारीका लागि सामाजिक सञ्जालका अनधिकृत लिङ्कमा नपरी सम्बन्धित संस्थाको आधिकारिक सूचनालाई मात्र आधार मान्न पनि अनुरोध गरिएको छ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले विश्वकपको नाममा भइरहेको यस्तो ठगीप्रति गम्भीर हुन आग्रह गर्दै आधिकारिक स्रोतबाट मात्र जानकारी लिन सर्वसाधारणलाई सुझाव दिएका छन्।












