दुई सातापछि सशस्त्र प्रहरीको नियन्त्रणबाट छुटे सयौं बिवाईडी गाडी

२ असार २०८३, मंगलवार ११:११

काठमाडौँ । मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याइएका बिवाईडी ब्रान्डका विद्युतीय सवारीसाधनमाथि गरिएको निगरानी तथा अनुसन्धानपछि सशस्त्र प्रहरी बलले नियन्त्रणमा राखिएका सबै सवारीसाधन फुकुवा गरेको छ। दुई सातादेखि विभिन्न स्थानमा रोकिएका ती सवारीसाधनलाई आइतबार साँझदेखि सम्बन्धित कम्पनीको जिम्मा लगाउन थालिएको हो।

कोरला नाकाबाट गत जेठको दोस्रो र तेस्रो साताबीच ठूलो संख्यामा विद्युतीय सवारी नेपाल भित्रिएका थिए। तीमध्ये अधिकांश सवारीसाधनले भन्सार प्रक्रिया पूरा गरिसकेका भए पनि आयात प्रक्रियामा कुनै अनियमितता वा कैफियत रहेको हुनसक्ने आशंकापछि सुरक्षा निकायले निगरानी बढाएको थियो। त्यसै क्रममा मुस्ताङ, पर्वत र कास्कीका विभिन्न स्थानमा सवारीसाधन रोकिएको थियो।

सरकारले घटनाको यथार्थता पत्ता लगाउन अर्थ मन्त्रालयमार्फत विशेष छानबिन समिति गठन गरेको थियो। समितिले कोरला नाका, जोमसोम, पर्वत र कास्की पुगेर स्थलगत अध्ययन तथा कागजात परीक्षण गरेको थियो। प्रारम्भिक अध्ययनका क्रममा आयात गरिएका विद्युतीय सवारीसाधनमा कुनै स्पष्ट कैफियत नदेखिएको निष्कर्षमा समिति पुगेपछि नियन्त्रणमा राखिएका सवारीसाधन फुकुवा गर्ने प्रक्रिया अघि बढाइएको हो।

सुरक्षा निकायका अनुसार कोरला नाकाबाट भित्रिएका सवारीसाधनमध्ये केही जोमसोममा, केही पर्वतको कुश्मा र केही कास्कीको हेमजामा राखिएका थिए। अनुसन्धान सम्पन्न भएसँगै ती सबै सवारीसाधन क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*