दोर्दी खोलाको स्थगित विशेष साधारणसभा पुनः आह्वान, हकप्रद निष्काशन मुख्य एजेण्डा

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले असार १ गते बोलाएको विशेष साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएपछि सञ्चालक समितिको बैठक बसेर पुनः सभा आह्वान गरेको छ।
असार १ गते नै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ९ गते मंगलबार ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमै बिहानको ९ बजे पुनः विशेष साधारणसभा आह्वान गरेको हो। यसका लागि कम्पनीले जेठ २५ गते नै बूक क्लोज गरिसकेको छ।
विशेष साधारण सभामा हाल कायम चुक्ता पूँजीको १ः०.२८८४७४७४ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गरिनेछ। यसअनुसार कम्पनीले ६० करोड ८२ लाख ५५ हजार रुपैयाँ बराबरका ६० लाख ८२ हजार ५५० कित्ता हकप्रद शेयर निष्काशन गर्ने योजना अघि सारेको छ।
विद्युत नियमन आयोगले हकप्रद शेयर निष्काशनका लागि स्वीकृति दिँदा दशमलवमा शेयर संख्या आएको कारण कम्पनीले नजिकको पूर्ण अंकमा मिलान गरी ६० लाख ८२ हजार ५५० कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव सभामा लैजान लागेको जनाएको छ। त्यसैगरी हकप्रद शेयर निष्काशनका लागि आवश्यक पर्ने गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
साथै नियामक निकायको निर्देशन वा सुझावअनुसार आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावलीमा थप संशोधन गर्न तथा हकप्रद निष्काशन प्रक्रियामा कुनै बाधा–अड्चन आए समाधान गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार दिने प्रस्तावसमेत सभामा पेश गरिनेछ।












