गुर्जुधारास्थित यातायात कार्यालयका ६ जना बिचौलिया पक्राउ

काठमाडौं । गुर्जुधारास्थित यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने ६ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारास्थित यातायात कार्यालय परिसरबाट बिचौलियाको भूमिका निर्वाह गरी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने तथा सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्नलाई नियन्त्रणमा लिइएको जनाएको हो।
असार २ गते बिहान करिब १०ः१५ बजे उक्त कार्यालयमा बिचौलियाले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने २७ वर्षीय रन्जीत महर्जन, गोकर्णेश्वर नगरपालिका–८ बस्ने २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारा बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरी नगरपालिका–५ बस्ने ४९ वर्षीय केदार श्रेष्ठ, धादिङको सिद्धलेक गाउँपालिका–१ बस्ने २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरी नगरपालिका–६ बस्ने २५ वर्षीय सविन तामाङ रहेका छन्।
प्रहरीले सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने तथा सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।













