स्वास्थ्य बीमा ऐन संशोधनको तयारी

३ असार २०८३, बुधबार १७:४८

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएकी छन्। बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले वर्तमान स्वास्थ्य बीमा प्रणालीमा सुधार आवश्यक रहेकाले ऐन संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।

मन्त्री मेहताका अनुसार आधारभूत स्वास्थ्य सेवालाई स्वास्थ्य बीमाबाट अलग गर्ने प्रस्तावसमेत सरकारले अघि बढाएको छ। साथै, सबै संगठित क्षेत्रमा अनिवार्य स्वास्थ्य बीमा लागू गर्ने र सामाजिक स्वास्थ्य सुरक्षा कोषअन्तर्गत सञ्चालन भइरहेको स्वास्थ्य बीमालाई साविकको स्वास्थ्य बीमा प्रणालीमा समायोजन गर्ने विषयमा पनि छलफल तथा पैरवी भइरहेको छ। उनले यस सम्बन्धमा सांसदसहित सबै सरोकारवालाबाट आवश्यक सुझाव र सहयोगको अपेक्षा गरिएको बताइन्।

सरकारको नीति तथा कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेटअनुसार मन्त्रालयले आफ्नो वार्षिक कार्यक्रम तय गरेको उल्लेख गर्दै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रलाई थप प्राथमिकतामा राखिएको दाबी गरिन्।

उनका अनुसार आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रका दृष्टिले समृद्धिमुखी र परिणाममुखी रहेको छ। विगतका वर्षहरूको तुलनामा स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा सरकारले विभिन्न सुधारका कार्यक्रम अघि बढाएको बताइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*