दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने बिशेष अदालतको आदेश

काठमाडौं । व्यवसायी दीपक भट्टलाई थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण मुद्दामा आज भएको थुनछेक आदेशपछि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश जारी भएको छ ।
बिशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो । हिमालयन रि इन्स्योरेन्स कम्पनीको लगानी दुरुपयोग गरेको, नेपाल रि इन्स्योरेन्सको शेयर योजनाबद्ध खरिद गरेको लगायतका आरोपमा नेपाल प्रहरीको सिआईबीले छानविन गरी केही दिन पहिले मुद्दा दर्ता गराएको थियो ।
दीपक भट्टले भने आफूलाई थाहै नदिई धोका दिएर सुलभ अग्रवालले कोषको पैसा दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् ।
उता, सम्पत्ति शुद्धिकरण मुद्दामा मुख्य दुई आरोपीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेशसँगै अब अन्य अभियुक्तहरु पनि पक्राउ गर्ने बाटो खुलेको छ । अब प्रहरीले फरार रहेका अभियुक्तहरुलाई एक एक पक्राउ गर्दै विशेष अदालतमा उपस्थित गराएर बयान दिएपछि धरौटी वा थुनामा भन्ने बाटो खुल्नेछ । यो काण्डको अर्की मुख्य योजनाकार उपासना पौडेल भने फरार छिन् । सात वटै माइक्रो इन्स्योरेन्स कम्पनीमा सुपर सिईओको भूमिका देखिएका चिरायु भण्डारी भने काठमाडौंमै लुकेर हिडिरहेका छन् ।
विशेष अदालतले थुनामा पठाउने आदेश दिनुको अर्थ थुनामा बसेर पुर्पक्ष गर्नु भनेको हो । अहिले नै अभियोग भने प्रमाणित भइसकेको छैन ।












