ईसेवाको कर्मचारी बनेर ठगी गर्ने युवक पक्राउ

४ असार २०८३, बिहीबार १०:२१

काठमाडौँ ।  आफूलाई ईसेवाको कर्मचारी भन्दै सेवाग्राहीलाई प्रलोभनमा पारेर लाखौं रुपैयाँ ठगी गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका–२ निवासी २२ वर्षीय शुभम साह रहेको ब्यूरोले जनाएको छ।

प्रहरीका अनुसार साहले आफूलाई ई–सेवाको कर्मचारी भनेर परिचय दिँदै सेवाग्राहीलाई फोन गरी “तपाईंको ई–सेवामा धेरै पुरस्कार अंक रहेको छ, त्यसलाई प्रयोग गर्नुपर्छ” भन्दै विश्वासमा पार्ने गरेका थिए। त्यसपछि विभिन्न प्रक्रिया पूरा गर्न लगाई एकपटक प्रयोग हुने गोप्य सङ्केत नम्बरसमेत प्राप्त गरी दुरुपयोग गर्ने गरेको खुलेको छ।

अनुसन्धानका क्रममा पीडितको खाताबाट एक लाख ९८ हजार चार सय ९९ रुपैयाँ ‘इभोलुसन ट्रेडिङ प्रालि’को ई–सेवा परिचय नम्बरमा स्थानान्तरण गरिएको तथा उक्त रकम प्रयोग गरी आइफोन १७ खरिद गरिएको पाइएको प्रहरीले जनाएको छ।

साइबर ब्यूरोका अनुसार असार २ गते पक्राउ परेका साहको साथबाट आठ थान मोबाइल फोन, आठ थान सिमकार्ड तथा ठगीका लागि प्रयोग गरिएका १५३ जना व्यक्तिको ई–सेवा परिचय नम्बरसँग सम्बन्धित मोबाइल नम्बरहरू बरामद गरिएको छ।

प्रहरीले उनीविरुद्ध विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। यस सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको ब्यूरोले जानकारी दिएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका साह यसअघि पनि यस्तै प्रकृतिका दुईवटा ठगी मुद्दामा पक्राउ परी अदालतबाट कैद सजाय भोगिसकेको व्यक्ति रहेको समेत खुलेको छ।

साइबर ब्यूरोले कुनै पनि व्यक्ति वा संस्थाबाट फोन, सन्देश वा इन्टरनेट ठेगाना आएमा एकपटक प्रयोग हुने गोप्य सङ्केत नम्बर, गोप्य शब्द तथा व्यक्तिगत वित्तीय विवरण कसैलाई पनि नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता साइबर ठगीका घटना भएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोको विद्युतीय हुलाकमार्फत उजुरी दिन पनि अनुरोध गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*