विद्युत् नियमन आयोगको अध्यक्ष बन्न सात उम्मेदवार अन्तिम चरणमा

काठमाडौं । विद्युत् नियमन आयोगको अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत सात जना उम्मेदवार अन्तिम चरणमा प्रवेश गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् नियमन आयोग अध्यक्ष तथा सदस्य नियुक्ति सिफारिस समितिले बुधबार सूचना जारी गर्दै व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।
समितिका अनुसार अध्यक्ष पदका लागि दरखास्त दिएका उम्मेदवारमध्ये आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा कार्य अनुभव पूरा गरेका र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा ५० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गरेका उम्मेदवारलाई अन्तिम चरणका लागि छनोट गरिएको हो।
छनोट हुनेहरूमा केशवध्वज अधिकारी, डा. रामप्रसाद धिताल, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसूदन अधिकारी, डा. भोलानाथ शर्मा घिमिरे र नारायणप्रसाद सापकोटा रहेका छन्।
समितिले सार्वजनिक गरेको सूचनाअनुसार उनीहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार ६ गते सञ्चालन हुनेछ।
अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सिफारिस समितिले योग्य उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। विद्युत् नियमन आयोगको अध्यक्ष पद ऊर्जा क्षेत्रको नियमन, नीति कार्यान्वयन तथा विद्युत् बजार व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी भएको पदका रूपमा हेरिन्छ।











