समस्याग्रस्त पाँच सहकारीका बचतकर्तालाई दाबी पेश गर्न आह्वान

४ असार २०८३, बिहीबार १४:४४

काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका पाँच सहकारी संस्थाका बचतकर्ता, सदस्य तथा साहुहरूलाई आफूले पाउनुपर्ने रकमको दाबी अनलाइनमार्फत पेश गर्न आग्रह गरेको छ।

समितिले असार ३ गते पुनः सूचना जारी गर्दै बागमती प्रदेश सहकारी ऐन, २०७६ अनुसार समस्याग्रस्त घोषणा भएका संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रियाका लागि सम्बन्धित पक्षबाट दाबी माग गरेको हो।

समितिका अनुसार अबको ३० दिनभित्र समितिको वेबसाइटमार्फत अनलाइन निवेदन दर्ता गर्नुपर्नेछ। बचतकर्ता, संस्थाका सदस्य तथा साहुहरूले आफूले पाउनुपर्ने रकमको दाबी अनलाइनमार्फत पेश गर्न सक्ने समितिले जनाएको छ।

समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाहरूमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, र सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

समितिले यी संस्थासँग सम्बन्धित सबै बचतकर्ता तथा दाबीकर्तालाई तोकिएको समयसीमाभित्र अनलाइनमार्फत दाबी पेश गर्न अनुरोध गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*