वन कर्मचारीले भीरबाट खसालेको टेम्पो प्रकरण ५ लाख क्षतिपूर्तिमा टुङ्गियो

९ असार २०८३, मंगलवार १५:४३

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकामा वन कर्मचारीले टेम्पो भीरबाट धकेलेर खसालेको घटनाको विवाद पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमतिसँगै टुङ्गिएको छ।

गोदावरी नगरपालिका–४ अन्तर्गत भीमदत्त राजमार्गको बासपानी क्षेत्रमा गत जेठ २९ गते डिभिजन वन कार्यालयका कर्मचारीले स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट धकेलेर खसालिदिएका थिए। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो।

घटनापछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो। समितिको म्याद बुधबार सकिँदै रहे पनि त्यसअघि नै पीडित र सम्बन्धित पक्षबीच सहमति जुटेको छ।

छानबिन समितिका संयोजक डा. विष्टका अनुसार धनादेवी धामीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि विवाद समाधान भएको हो। प्रारम्भिक चरणमा धामीले भत्काइएका घरटहरा पुनर्निर्माण गरिदिनुपर्ने, आफूहरूलाई तत्काल होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउनुपर्ने तथा १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आएकी थिइन्।

तर छलफलका क्रममा कानुनी प्रक्रिया, सार्वजनिक तथा वन क्षेत्रको अतिक्रमण हटाउने जिम्मेवारी सम्बन्धित निकायको दायित्व हुने विषयमा जानकारी गराइएपछि धामी ५ लाख रुपैयाँ क्षतिपूर्तिमा सहमत भएको समितिले जनाएको छ।

समितिका अनुसार अतिक्रमण हटाउने क्रममा केही कर्मचारी आवेग र उत्तेजनामा आएर आवश्यकताभन्दा बढी बल प्रयोग गरेको देखिएकाले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरिएको हो। साथै, व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएको टेम्पो सडक किनारमा राखेर व्यवसाय सञ्चालन गर्दा यातायात सम्बन्धी कानुनअनुसार ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने विषय पनि पीडितलाई जानकारी गराइएको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*