यात्रुवाहक मिनीबस कर्णाली नदीमा खस्यो

१८ असार २०८३, बिहीबार १३:४८

काठमाडौँ । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्दा १४ जना यात्रु बेपत्ता भएका छन्।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा कर्णाली ०३–००१ ख १०५५ नम्बरको बुलबुले यातायातको गाडी सडकबाट करिब ५०० मिटर तल कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगिसकेको भए पनि गाडी नदीमा डुबेकाले अहिलेसम्म फेला पर्न सकेको छैन।

प्रहरीका अनुसार दुर्घटनाका बेला गाडीमा चालकसहित १४ जना यात्रु सवार थिए। बेपत्ता यात्रुहरूको खोजीका लागि तल्लो ढुंगेस्वर, पाल्तडा र राकम कर्णालीबाट समेत प्रहरी टोली परिचालन गरिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उद्धारका लागि सशस्त्र प्रहरी बलसँग पनि समन्वय गरिएको छ। दुर्घटनास्थल सुर्खेतको वीरेन्द्रनगरबाट करिब ७५ किलोमिटर टाढा पर्छ।

हाल नदीमा डुबेको गाडी तथा बेपत्ता यात्रुहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*