बजारमा हरियालीको निरन्तरताः कारोबार समेत बढ्दै, दिर्घकालीन सुधार कि माफिया बाहिरिंदै ?

१८ असार २०८३, बिहीबार १५:०७

काठमाडौँ । शेयर बजारमा आज पनि सुधार देखिएको छ । निरन्तर सात दिन घटेको बजार पछिल्ला दुई कारोबारको दिन भने बढेको हो । नियामक निकाय र सरकारले बजारप्रति सकारात्मक सन्देश दिन विभिन्न प्रयास गरेपछि लगानीकर्ताको मनोबल बलियो बन्दै गएको देखिएको छ ।

बजारमा सुधार आएपनि लगानीकर्तामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र बजारसँग सम्बन्धित कारोबारमाथि अनुसन्धान तीव्र बनाएपछि भने बजारमा दबाब बढेको छ । नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार दैनिक ३० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने ब्रोकर कम्पनीहरूको विस्तृत विवरण मागिनुका साथै तीमार्फत कारोबार गर्ने ठूला लगानीकर्ताको विवरण संकलन भइरहेको छ । समूहगत कारोबार, कृत्रिम रूपमा शेयर मूल्य बढाउने, इन्साइडर सूचनाको दुरुपयोग तथा अस्वाभाविक कारोबारमाथि अनुसन्धान अघि बढेपछि ठूला कारोबारी समूहहरू सतर्क बनेका छन्। यसले बजारमा सक्रिय पूँजीको प्रवाह घटेको र नयाँ लगानीकर्ताले मात्र बजारलाई उकालो लगाउन नसकेको विश्लेषण गरिएको छ ।

यता, अब लगानीकर्ताको सम्पूर्ण ध्यान नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आगामी मौद्रिक नीतितर्फ केन्द्रित भएको छ। विशेषगरी शेयर धितो कर्जाको सीमा, तरलता व्यवस्थापन, ब्याजदरको दिशा, पूँजी बजारसँग सम्बन्धित कर्जा नीति तथा लगानीमैत्री व्यवस्थाबारे राष्ट्र बैंकले कस्तो नीति ल्याउँछ भन्ने विषय अहिले बजारको मुख्य चासो बनेको छ। मौद्रिक नीतिले बजारलाई राहत दिने अपेक्षा गरिए पनि हालसम्म कुनै स्पष्ट संकेत नआएकाले संस्थागतदेखि व्यक्तिगत लगानीकर्तासम्म ’पर्ख र हेर’ को रणनीतिमा देखिएका छन्। विश्लेषकहरूका अनुसार मौद्रिक नीतिले सकारात्मक सन्देश दिन सके बजारमा विश्वास फर्किने सम्भावना रहन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अकंले बढेर २६६१.७१ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको ८९ लाख ६४ हजार २२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ५ उपसूचकमा मात्रै सुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको सर्वाधिक २.०४ प्रतिशतले बढेको छ । अन्य ८ उपसूचक भने घटेको छ ।

बिहिबार १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको घटेको छ । आज १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*