सम्पत्ति शुद्धीकरणलाई राजनीतिक अस्त्र बनाउने गल्ती गर्दैनौं: अर्थमन्त्री वाग्ले

१८ असार २०८३, बिहीबार १६:१३

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयलाई राजनीतिक उद्देश्य पूरा गर्न दुरुपयोग गरिए नेपाल ग्रे लिस्टबाट बाहिरिन नसक्ने बताएका हुन् ।

उनले यस विषयलाई राजनीतिक हतियारका रूपमा अघि बढाउन नहुने उल्लेख गर्दै नेपाल ग्रे लिस्टबाट बाहिरिनुपर्ने अवस्थामा रहेको र सम्पत्ति शुद्धीकरणसम्बन्धी संयन्त्रलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गरिए ग्रे लिस्टबाट बाहिरिन कठिन हुने बताए ।

अर्थमन्त्री वाग्लेले सरकारले पूर्वाग्रह वा प्रतिशोधका आधारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी संयन्त्र प्रयोग नगरेको स्पष्ट पार्दै विगतमा सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहँदा उजुरी सङ्कलन गरेर राजनीतिक प्रतिशोध र उत्पीडनका लागि दुरुपयोग हुने गरेको उल्लेख गरे । उनले उक्त अप्रिय अभ्यासबाट पाठ सिक्दै अहिले विभागलाई व्यावसायिक ढङ्गले सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।

उनले सम्पत्ति शुद्धीकरण विभाग हाल अर्थ मन्त्रालयअन्तर्गत रहेको स्पष्ट पार्दै यसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको भन्ने धारणा गलत भएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*