नक्कली प्रमाणपत्रले जागिर खाएका साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक (सातौं तह) मनोज कुमार झाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी स्वामित्वको संस्थामा सेवा प्रवेश गर्नुका साथै बढुवा र विभिन्न सुविधा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको माग गर्दै बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार झाले भारतको मगध विश्वविद्यालय, बोधगयाबाट सन् १९९८ मा स्नातक तह (विज्ञान) उत्तीर्ण गरेको भनी झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी पेस गरेको पाइएको छ। उनले मार्कसीट, माइग्रेसन सर्टिफिकेट, ट्रान्सफर सर्किफिकेट तथा प्रोभिजनल सर्टिफिकेट लगायतका नक्कली प्रमाणपत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।
यिनै नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा झाले वि.सं. २०६४ सालमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा प्रमुख सहायक (सहायक केमिष्ट) पदमा प्रारम्भिक नियुक्ति लिएको र त्यसपछि सोही प्रमाणपत्रकै आधारमा सहायक प्रबन्धक (सातौं तह) पदमा बढुवा भई पद, ओहोदा, तलब–भत्ता तथा अन्य सेवा–सुविधासमेत लिएको भन्दै अख्तियारले मुद्दा चलाएको हो।











