शेयर बजारमा राईदाई गरिरहेको कालोधन छानविन कहिले ? बालेनको सुशासनको धज्जी नउडोस्

१९ असार २०८३, शुक्रबार ०८:४८

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार यतिबेला सुशासनका लागि सम्झौता विहिन अभियानमा छ । सरकारले थुप्रै बिचौलिया, सेटिङकर्ता र कालोधनको खेतिपाती गर्नेहरुलाई जेल हाल्ने तयारी गरिरहेको छ ।

गृहमन्त्री सुदन गुरुङको तिखो नजर देशभित्र जनताले चुसेर रातारात अर्बपति बनेकाहरुलाई कसरी तह लगाउने भन्नेमा नै केन्द्रीत छ । तर, यही बीचमा शेयर बजारमा कालोधन छिराएर रातारात अर्बपति बनेकाहरुको सम्पत्ति छानविन नभएको देखेर एकाथरी शेयर लगानीकर्ताहरु आश्चर्यचकित बनेका छन् । नेपाली शेयर बजारमा चप्पल लगाएर सडकमा दौडनेहरु आज अर्बपति बनेका छन् ।

नेपाली शेयर बजारमा इन्साइडर ट्रेडिङ गर्ने, लोक्यापमा चलखेल गर्ने, कृत्तिम रुपमा शेयरको मूल्यअत्याधिक बृद्धि गरी लगानीकर्ताहरु डुबाउने र सीमित व्यक्तिहरु मालामाल बन्ने गलत प्रवृत्ति विगतदेखि नै चल्दै आइरहेको थियो । जुन अहिले केही मत्थर जस्तो देखिए पनि अझै जारी छ ।

धितोपत्र ब्रोकरसँग मिलेर असीमित क्रेडिट लिने, सामान्य चेक धितो राखेकै घरमा रातारात मालामाल बन्ने खेलमा सहभागी ब्रोकर कम्पनी समेतमाथि छानविन बाँकी छ । एउटा भृकुटी स्टक ब्रोकरबाट भएका तमाम कामहरु सरकारले थाहा पाएकै छ । यस्ता धन्य अन्य ब्रोकरहरुबाट कति भएका होलान यसको छानविन कहिले हुन्छ आजको तेजिलो प्रश्न बनेर सरकार सामू उभिएको छ ।

आफू रातारात मालामाल बन्ने, लगानीकर्ताहरुलाई शेयर घाटा खाएरै भएपनि बेच्न उक्साएर सबै शेयर एकत्रित गरेका घटना होस् वा कृत्तिम रुपमा अभाव सिर्जना गरी मूल्य बढाएर खरिद गर्न लगाएका घटनाहरु हुन्, सबै घटनाहरुमा साना लगानीकर्ताहरु फस्न पुगेका छन् ।

पछिल्लो पटक २०७६ सालपछि शेयरमा मूख्य रुपमा सबैभन्दा धेरै खेलहरु भएका थिए । सरकारसँग सेटिङ गरेर नीति निर्माणदेखि बजारमा प्रभाव पार्ने तत्वहरुले लाखौं सर्वसाधारणलाई दोस्रो बजारमा शेयर किन्न लगाएर डुबाएका थिए ।

नेपाली शेयर बजारमा पोखरा फाइनान्स, गोरखा फाइनान्स, नेपाल फाइनान्स काण्डहरुदेखि चन्द्रागिरी केवलकार काण्डहरु घटेका छन् । यसको पछिल्लो श्रृंखला गार्डियन माइक्रो लाइफमा देखिएको थियो ।

शेयर बजारमा यस्ता घटना त प्रतिनिधि पात्रहरु मात्रै हुन् । दैनिक रुपमा साना तथा मध्यमस्तरका लगानीकर्ताहरुलाई डुबाउने, नवप्रवेशीहरुलाई फसाएर आफू उम्किने शेयर माफियाहरुका एक एक काण्डहरुको छानविन र उनीहरुले त्यसरी अबैध रुपमा आर्जन गरेको सम्पत्तिको छानविन कहिले होला ? प्रश्न उठेको छ । यको छानविनको सुरुवात कहाँबाट होला ? अर्को प्रश्न उठेको छ । कुन बिन्दुलाई शुन्यबिन्दु मानेर छानविन सुरु गर्ने होला ?

तमाम प्रश्नहरुको एकमुष्ठ छानविन ठूलो कारोबारीहरुको सम्पत्ति शुद्धिकरणको ऐनामा राखेर हेर्दा दुधको दुध पानीको पानी हुने अवस्थाप्रति सरकार किन कानमा तेल हालेर बसिरहेको छ ? आश्चर्यको बिषय बन्न पुगेको छ । शेयर बजारकोको कालोधनको छानविन नगरेर भ्रष्टाचारविरोधी बालेन सरकारको इमानमा खिया लाग्ने काम नहोस् । समयमै चेतना भया ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*