सिएनआईका पूर्वअध्यक्ष विष्णु अग्रवालले बीमापोष्टसँग मागे ३५ करोड ४० लाख

काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष एवम् बिनोद चौधरीका नातेदार व्यापारी विष्णु प्रसाद अग्रवालले बीमापोष्टलाई ३५ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गरेका छन् ।
बीमापोष्टमा प्रकाशित भन्सार छली र भ्याट छली सम्बन्धी समाचार र सेरस गाडीको गुणस्तर तथा उपभोक्ता ठगिएको सम्बन्धमा प्रकाशित दुई फरक–फरक समाचारले आफ्नो क्षति भएको भन्दै बीमापोष्टको माऊ कम्पनी राईनिसी मिडिया एण्ड रिसर्च सेन्टर र बीमापोष्टका सम्पादक नबराज न्यौपानेसँग ३५ करोड क्षतिपूर्ति र वकिल फि ४० लाख रुपैयाँसहित कुल ३५ करोड ४० लाख रुपैयाँ माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
विष्णु अग्रवाल र विवेक सिकरियाले एमएडब्लू वृद्धि कमर्शियल भेहिकल्स प्रा.लि. को तर्फबाट सञ्चालक समितिद्वारा निर्णय गरी १० करोड रुपैयाँ क्षतिपूर्ति र सो मुद्दामा लाग्ने कानून व्यवसायी खर्च बापत १५ लाख रुपैयाँ भराउन माग गरेका छन् । त्यसैगरी विष्णु अग्रवाल र विवेक सिकरिया सञ्चालक रहेको एमएडब्लू वृद्धि मोटर्स प्रा.लि. को तर्फबाट २५ करोड रुपैयाँ क्षतिपूर्ति र २५ लाख रुपैयाँ कानून व्यवसायी शुल्क भराउन जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका छन् । उनको कम्पनी एमएडब्लू वृद्धिले कारोबार नै नगरेको निजले पेश गरेको करचुक्ता कागजातमा देखिएको छ । २०८१ असार मसान्तसम्म कनै आम्दानी नै नगरेको, खर्च पनि नगरेको र मुनाफा समेत शून्य रहेको विष्णु अग्रवाल र विवेक सिकरियाको कम्पनीले बीमापोष्टका विरुद्धमा ३५ करोड ४० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको हो ।
प्रकाशित समाचारमा चित्त नबुझेमा सोही सञ्चार माध्यममा सिधैं वा सो सञ्चार माध्यमले खण्डन प्रकाशित नगरेको अवस्थामा प्रेस काउन्सिलमार्फत खण्डन गराउनुपर्ने कानूनी व्यवस्थालाई अस्वीकार गर्दै विधि मिचेर बीमापोष्टका विरुद्धमा एमएडब्लू वृद्धि कमर्शियल भेहिकल्सका सञ्चालक विष्णु अग्रवाल र विवेक सिकरियाले बीमापोष्टका विरुद्धमा बेइज्जती मुद्दा दर्ता गरी सो रकम माग गरेका हुन् ।











