जीवन बीमा कम्पनीहरूको अल्पकालीन लगानी २ खर्ब २१ अर्ब नाघ्यो, कुन कम्पनीको कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नेपालका १४ वटा जीवन बीमा कम्पनीहरूको अल्पकालीन लगानी (शर्ट टर्म इन्भेष्टमेण्ट) उल्लेखनीय रूपमा बढेको छ।
वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीको कुल अल्पकालीन लगानी २ खर्ब २१ अर्ब १८ करोड २२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी १ खर्ब ७३ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा समग्र अल्पकालीन लगानी २७.४१ प्रतिशतले वृद्धि भएको देखिएको छ।
जीवन बीमा कम्पनीहरूले अल्पकालीन तरलता व्यवस्थापन, दाबी भुक्तानी, सञ्चालन खर्च तथा अन्य तत्कालीन वित्तीय दायित्व पूरा गर्न निश्चित अवधिका लागि गर्ने लगानीलाई अल्पकालीन लगानीका रूपमा वर्गीकरण गरिन्छ। यस्ता लगानी प्रायः बैंक तथा वित्तीय संस्थाको छोटो अवधिको निक्षेप, ट्रेजरी बिल जस्ता वित्तीय साधनमा केन्द्रित हुने गर्छन्।
सर्वाधिक अल्पकालीन लगानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीको अल्पकालीन लगानी ४० अर्ब ४ करोड ६५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको यस्तो लगानी ३९.३१ प्रतिशतले वृद्धि भएको छ।

दोस्रो स्थानमा रहेको एलआईसी नेपालको अल्पकालीन लगानी ३९ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ। कम्पनीले एक वर्षको अवधिमा १२८.७१ प्रतिशतको उच्च वृद्धि हासिल गरेको छ। त्यसपछि सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी ३२ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ बराबरको लगानीसहित तेस्रो स्थानमा रहेको छ। यद्यपि कम्पनीको लगानी अघिल्लो वर्षको तुलनामा २५.८७ प्रतिशतले घटेको देखिएको छ।
चौथो स्थानमा रहेको हिमालयन लाइफको यस्तो लगानी ३२ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने मेट लाइफको १३ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ रहेको छ। एशियन लाइफले १२ अर्ब ७९ करोड ७ लाख रुपैयाँ तथा सानिमा रिलायन्स लाइफले १२ अर्ब २६ करोड ५६ लाख रुपैयाँ बराबरको अल्पकालीन लगानी गरेका छन्।
त्यसैगरी नेशनल लाइफको अल्पकालीन लगानी ९ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पुगेको छ। प्रभु महालक्ष्मी लाइफले ७ अर्ब २० करोड १७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ८० करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ६४ करोड ८९ लाख रुपैयाँ तथा आईएमई लाइफले ५ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ बराबरको लगानी गरेका छन्। रिलायबल नेपाल लाइफको अल्पकालीन लगानी १ अर्ब ७५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सन नेपाल लाइफको १ अर्ब ७० करोड ५० लाख रुपैयाँ पुगेको छ।

वृद्धिदरका आधारमा हेर्दा सन नेपाल सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको अल्पकालीन लगानी एक वर्षमा ४५० प्रतिशतले वृद्धि भएको छ। त्यसपछि एलआईसीको १२८.७१ प्रतिशत, प्रभु महालक्ष्मीको ९३.३४ प्रतिशत, मेटको ८८.९८ प्रतिशत, आईएमईको ६०.३७ प्रतिशत तथा सानिमा रिलायन्सको ४४.२७ प्रतिशत वृद्धि भएको छ।
त्यसपछि नेपालको ३९.३१ प्रतिशत, हिमायलयनको ३६.५१ प्रतिशत, एशियनको १२.१९ प्रतिशत र सिटिजनको ६.४९ प्रतिशतले लगानी वृद्धि भएको छ। यता केही कम्पनीहरूको अल्पकालीन लगानी भने घटेको देखिएको छ। राष्ट्रिय जीवन बीमाको लगानी २५.८७ प्रतिशत, रिलायबल नेपालको २२.२५ प्रतिशत, सूर्यज्योतिको २० प्रतिशत तथा नेशनलको ३.१३ प्रतिशतले घटेको वित्तीय विवरणले देखाएको छ।











