आन्तरिक पर्यटनबाट अर्थतन्त्रमा २.६५ प्रतिशत योगदान, नेपालीले एक वर्षमै खर्चिए ४ खर्ब ५९ अर्ब रुपैयाँ

१९ असार २०८३, शुक्रबार १४:४७

काठमाडौं । नेपालमा आन्तरिक पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ अनुसार आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २.६५ प्रतिशत योगदान दिएको छ।

कार्यालयले देशभरका ४४४ गणना क्षेत्रका ५ हजार ३२८ घरपरिवारलाई नमुनाका रूपमा छनोट गरी ‘टु-स्टेज स्ट्रेटिफाइड स्याम्पलिङ डिजाइन’ विधिबाट सर्वेक्षण गरेको हो।

प्रतिवेदनअनुसार नेपालका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ३६ लाख २१ हजार अर्थात् ५२.४ प्रतिशत घरपरिवारले सन्दर्भ अवधिमा कम्तीमा एकपटक पर्यटकीय गतिविधिमा सहभागी भएर ‘पर्यटक घरपरिवार’को रूपमा पहिचान बनाएका छन्। बाँकी ३२ लाख ८९ हजार अर्थात् ४७.६ प्रतिशत घरपरिवार भने कुनै पनि पर्यटकीय भ्रमणमा सहभागी नभएको पाइएको छ। पर्यटक घरपरिवारको राष्ट्रिय औसत सदस्य संख्या ३.९४ रहेको छ।

आन्तरिक पर्यटकमध्ये युवा पुस्ताको सहभागिता उल्लेखनीय देखिएको छ। सर्वेक्षणअनुसार १३ देखि २८ वर्ष उमेर समूहका ‘जेनेरेसन जेड’को हिस्सा २६.६ प्रतिशत रहेको छ, जुन सबैभन्दा बढी हो।

प्रदेशगत रूपमा सुदूरपश्चिम र मधेश प्रदेशमा पर्यटकको औसत बसाइ सबैभन्दा लामो, ८.१८ दिन रहेको छ। वार्षिक भ्रमणको आवृत्तिका आधारमा भने गण्डकी प्रदेश सबैभन्दा अगाडि देखिएको छ, जहाँ एक पर्यटकले औसतमा ६.२६ पटक भ्रमण गरेका छन्। रात बिताउने आन्तरिक पर्यटकका प्रमुख गन्तव्य जिल्ला काठमाडौं, चितवन र कास्की रहेका छन्। मनोरञ्जनका लागि कास्की सबैभन्दा लोकप्रिय गन्तव्यका रूपमा देखिएको छ।

सर्वेक्षणले नेपालीहरूको बाह्य भ्रमणसम्बन्धी अवस्था पनि उजागर गरेको छ। सन्दर्भ अवधिमा २ लाख ९३ हजार नेपाली सोही दिन फर्किने गरी विदेश भ्रमणमा गएका छन् भने ६ लाख २० हजार नेपाली रात बिताएर फर्किने गरी बाह्य भ्रमणमा सहभागी भएका छन्। सोही दिन फर्किने बाह्य भ्रमणको प्रमुख उद्देश्य किनमेल रहेको छ, जसको हिस्सा ६३.९ प्रतिशत छ। रात बिताउने भ्रमणमा पनि किनमेल नै मुख्य उद्देश्य रहेको छ, जसको हिस्सा ४०.३ प्रतिशत छ भने धार्मिक उद्देश्यका लागि गरिएको भ्रमण १९.६ प्रतिशत रहेको छ।

बाह्य भ्रमणको मौसमी प्रवृत्ति हेर्दा कात्तिकदेखि पुससम्मको अवधिमा सबैभन्दा बढी भ्रमण हुने गरेको पाइएको छ। विशेषगरी भारततर्फ सोही दिन फर्किने भ्रमणमा गरिएको कुल खर्चमध्ये ७०.७ प्रतिशत रकम किनमेलमै खर्च हुने गरेको सर्वेक्षणले देखाएको छ।

नेपाली घरपरिवारले सन्दर्भ अवधिमा पर्यटनसँग सम्बन्धित गतिविधिमा कुल ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्च गरेका छन्। यसमध्ये आन्तरिक पर्यटनअन्तर्गत रात बिताउने भ्रमणमा ३ खर्ब ४४ अर्ब ४४ करोड रुपैयाँ र सोही दिन फर्किने भ्रमणमा ९० अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ। बाह्य पर्यटनतर्फ रात बिताउने भ्रमणमा ४७ अर्ब ९७ करोड रुपैयाँ तथा सोही दिन फर्किने भ्रमणमा १५ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

उद्देश्यगत रूपमा स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा सबैभन्दा बढी, कुल खर्चको ३१.७८ प्रतिशत हिस्सा खर्च भएको छ। विधागत रूपमा भने किनमेलमा २६ प्रतिशत खर्च भएको देखिएको छ। खर्चका शीर्षकमध्ये यातायातमा भएको खर्चको ६८.७ प्रतिशत सार्वजनिक सवारीसाधनमा खर्च हुने गरेको पाइएको छ। प्रति भ्रमण औसत खर्च ११ हजार ९२२ रुपैयाँ रहेको छ भने स्वास्थ्य उपचारसम्बन्धी भ्रमणको औसत खर्च सबैभन्दा बढी २३ हजार ५१६ रुपैयाँ रहेको छ।

पर्यटन स्याटलाइट लेखाको ढाँचाअनुसार आन्तरिक पर्यटनबाट सिर्जित कुल पर्यटकीय उपभोग ४ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। यसका आधारमा आन्तरिक पर्यटन क्षेत्रबाट ३ खर्ब ३१ अर्ब २४ करोड रुपैयाँ बराबरको उत्पादन सिर्जना भएको तथा कुल पर्यटन मूल्य अभिवृद्धि १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयको सर्वेक्षणले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*