फेरि राताम्य भयो शेयर बजारः बिक्री तिर हाबी लगानीकर्ता, यी कारण छ त्रासको वातावरण!

१९ असार २०८३, शुक्रबार १५:०४

काठमाडौँ । लगातार दुई कारोबार दिन सुधारको संकेत देखिएको शेयर बजार शुक्रबार फेरि ओरालो लागेको छ । सात दिनसम्म लगातार घटेपछि देखिएको छोटो सुधार टिक्न नसक्दा बजार पुनः राताम्य बनेको हो । बजारमा खरिदभन्दा बिक्री चाप हाबी हुँदा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ भने लगानीकर्ताले समयमै नाफा सुरक्षित गर्दै बजारबाट बाहिरिने रणनीति अपनाएको देखिन्छ । पछिल्ला दिनमा बजारमा देखिएको अनिश्चितता र मनोवैज्ञानिक दबाबका कारण नयाँ खरिदकर्ता सक्रिय हुन नसक्दा सूचक पुनः दबाबमा परेको विश्लेषण गरिएको छ ।

बजारमा देखिएको दबाबको मुख्य कारणमध्ये सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र बजारसँग सम्बन्धित कारोबारमाथि थालेको अनुसन्धानलाई पनि मानिएको छ। नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार दैनिक ३० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने ब्रोकर कम्पनीहरूको विस्तृत विवरण मागिनुका साथै तीमार्फत कारोबार गर्ने ठूला लगानीकर्ताको गतिविधिसमेत अध्ययन भइरहेको छ। समूहगत कारोबार, कृत्रिम रूपमा शेयर मूल्य बढाउने प्रयास, इन्साइडर सूचनाको दुरुपयोग तथा अस्वाभाविक कारोबारमाथिको अनुसन्धान तीव्र बनेपछि ठूला कारोबारी समूह सतर्क देखिएका छन्। यसले बजारमा सक्रिय पूँजीको प्रवाह सुस्ताएको र लगानीकर्ताको मनोबल कमजोर बनेको विश्लेषण गरिएको छ।

यस्तै, असार मसान्त नजिकिएसँगै वित्तीय प्रणालीमा देखिएको मौसमी दबाबले पनि शेयर बजारलाई थप असर गरेको छ। बैंक तथा वित्तीय संस्थासँगको कर्जा समायोजन, मार्जिन कर्जा व्यवस्थापन, हिसाब मिलान तथा अन्य वित्तीय दायित्व पूरा गर्नुपर्ने बाध्यताका कारण धेरै लगानीकर्ताले शेयर बिक्री बढाएका छन्। हरेक वर्ष असार मसान्तमा यस्तो प्रवृत्ति देखिए पनि यसपटक बजारलाई माथि तान्ने कुनै बलियो सकारात्मक उत्प्रेरक नदेखिएकाले बिक्री चाप अझ तीव्र बनेको विश्लेषकहरूको भनाइ छ। खरिदकर्ता सीमित हुँदा कारोबार रकमसमेत उल्लेखनीय रूपमा घटेको छ, जसले बजारमा देखिएको अघिल्लो दिनको सुधारलाई दीर्घकालीन पुनरुत्थानभन्दा क्षणिक राहतका रूपमा मात्रै व्याख्या गर्न थालिएको छ।

यता, बजारको आगामी दिशाबारे लगानीकर्ताको सम्पूर्ण ध्यान अब नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतितर्फ केन्द्रित भएको छ। विशेषगरी शेयर धितो कर्जाको सीमा, तरलता व्यवस्थापन, ब्याजदरको दिशा, पूँजी बजारसँग सम्बन्धित कर्जा नीति तथा लगानीमैत्री व्यवस्थाबारे राष्ट्र बैंकले कस्तो व्यवस्था ल्याउँछ भन्ने विषय अहिले बजारको सबैभन्दा ठूलो चासो बनेको छ। स्पष्ट संकेत नआएसम्म संस्थागत तथा व्यक्तिगत दुवै प्रकारका लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा देखिएका छन्, जसका कारण बजारमा नयाँ लगानीको गति सुस्त बनेको छ।

बजार विश्लेषकहरूका अनुसार अनुसन्धानको वातावरण, मौसमी वित्तीय दबाब र मौद्रिक नीतिप्रतिको प्रतीक्षाले एकैसाथ बजारलाई प्रभाव पारेको छ। यद्यपि, राष्ट्र बैंकले लगानीमैत्री तथा पूँजी बजारलाई सकारात्मक सन्देश दिने नीति ल्याउन सके लगानीकर्ताको विश्वास पुनः फर्किने र बजारमा नयाँ पूँजी प्रवेश गर्ने सम्भावना रहने उनीहरूको भनाइ छ। अन्यथा, बजारमा देखिएको बिक्री चाप केही समय अझै कायम रहन सक्ने र सूचकले तत्काल बलियो सुधार देखाउन कठिन हुने आकलन गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अकंले घटेर २६५३.४० बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ समूहको शेयर मूल्य घटेको छ भने ५ समूहमा सामान्य सुधार देखिएको हो ।

शुक्रबार १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*