कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको छड्के अनुगमन

१९ असार २०८३, शुक्रबार १५:४८

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले शुक्रबार त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयको छड्के अनुगमन गर्दै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी छन्।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोलीसहित पुगकी मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको अवलोकन गर्दै सेवाग्राहीलाई सहज, छिटो र झन्झटरहित सेवा दिन निर्देशन दिएकी हुन्। निरीक्षणका क्रममा कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले पछिल्लो समय कार्यालयले सेवा प्रवाहमा गरेको सुधारबारे जानकारी दिएकी थिइन्। उनका अनुसार सरकारी शासकीय सुधारसम्बन्धी निर्देशन कार्यान्वयन गर्दै कम्पनी दर्ता प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाइएको छ।

नयाँ प्रणाली लागू भएपछि अब कम्पनी दर्ताका लागि सेवाग्राहीले कार्यालय धाइरहनुपर्ने आवश्यकता नरहेको कार्यालयले जनाएको छ। आवश्यक कागजात र प्रक्रिया अनलाइनमार्फत घरबाटै पूरा गर्न सकिने व्यवस्था मिलाइएको छ। साथै कम्पनी दर्ता भएपछि स्थायी लेखा नम्बर (प्यान) लिन आन्तरिक राजस्व कार्यालयमा छुट्टै जानुपर्ने झन्झट पनि हटाइएको छ।

कार्यालयले सेवाग्राहीका जिज्ञासा र गुनासोको छिटो समाधानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित कल सेन्टरसमेत सञ्चालनमा ल्याएको छ। यसबाट चौबीसै घण्टा कम्पनी दर्तासम्बन्धी जानकारी तथा आवश्यक सहयोग प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

निरीक्षणपछि मन्त्री यादवले प्रविधिको प्रभावकारी प्रयोगलाई अझ विस्तार गर्दै सेवामा पारदर्शिता र सहजता कायम राख्न कर्मचारीलाई निर्देशन दिएकी छन्। उनले सर्वसाधारणले कुनै पनि प्रकारको अनावश्यक सास्ती भोग्न नपर्ने वातावरण बनाउन जोड दिइन्। यसैबीच कम्पनी रजिष्ट्रार कार्यालयले डिजिटल प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि जनशक्ति व्यवस्थापनमा समेत सुधार गर्ने प्रस्ताव अघि सारेको छ। प्रविधिको प्रयोगबाट कम कर्मचारीबाट पनि प्रभावकारी रूपमा काम गर्न सकिने भएकाले २८ प्रतिशत कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*