माग सम्बोधन भएपछि प्रेस काउन्सिलका कर्मचारीको आन्दोलन स्थगित

१९ असार २०८३, शुक्रबार १७:३३

काठमाडौँ । महँगी भत्ता उपलब्ध गराउने विषयमा कर्मचारीहरूले थालेको आन्दोलनपछि अवरुद्ध भएको प्रेस काउन्सिल नेपालको सेवा कर्मचारीको माग सम्बोधन भएसँगै पुनः सुचारु भएको छ।

नेपाल सरकारको नियमानुसार स्थायी कर्मचारीहरूले पाउँदै आएको अनिवार्य दायित्वअन्तर्गतको विशेष भत्ता (महँगी भत्ता) वि.सं. २०८२ माघ महिनादेखि उपलब्ध नभएको भन्दै कर्मचारीहरूले असार १८ गतेदेखि काउन्सिल सचिवालयको दैनिक कामकाज बन्द गरी आन्दोलन सुरु गरेका थिए। सो क्रममा कर्मचारीहरूले कार्यालय परिसरमा धर्ना दिँदै सरकारले निर्णय गरेअनुसारको भत्ता तत्काल उपलब्ध गराउन माग गरेका थिए।

कर्मचारीहरूको माग सम्बोधन भएपछि प्रेस काउन्सिल नेपालले असार १९ गते अपराह्नदेखि काउन्सिलको सम्पूर्ण सेवा पुनः सञ्चालनमा आएको जनाएको छ। आन्दोलित कर्मचारीहरूले माग सम्बोधन भएकाले अवरुद्ध भएको सेवा अब नियमित रूपमा सञ्चालन हुने जानकारी दिएका हुन्।

यसअघि कर्मचारीहरूले लामो समयसम्म महँगी भत्ता रोकिँदा आर्थिक भार बढेको, पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि आन्दोलन गर्न बाध्य भएको बताएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*