कानुनमन्त्री सोविता गौतमद्वारा १०० दिने प्रगति विवरण सार्वजनिक

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले यस अवधिमा गरेका प्रमुख काम र उपलब्धि सार्वजनिक गरेकी छन्।
गत चैत १३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री गौतमले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार मन्त्रालयको सेवा प्रवाहलाई छिटो, प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन फास्ट ट्रयाक डेस्क स्थापना गरिएको छ। साथै नीति, कानून र प्रशासनिक सुधारसम्बन्धी सुझाव तथा प्रतिक्रिया संकलन गर्न विशेष डिजिटल पोर्टल पनि सञ्चालनमा ल्याइएको छ।
कानून निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता बढाउने उद्देश्यले मेक योर वन ल नामक डिजिटल पोर्टल सुरु गरिएको मन्त्रालयले जनाएको छ। त्यसैगरी सर्वसाधारणलाई कानूनबारे सहज रूपमा जानकारी गराउन ल अफ द विक शीर्षकको जानकारीमूलक श्रृंखला पनि सञ्चालनमा ल्याइएको छ।
संघ, प्रदेश र स्थानीय तहबाट बनेका सबै कानूनलाई एकीकृत रूपमा विद्युतीय माध्यमबाट उपलब्ध गराउने उद्देश्यका साथ नेपाल ल इन्फरमेसन सिस्टम विकासको काम अगाडि बढाइएको मन्त्रालयले उल्लेख गरेको छ।
यस्तै नेपाल कानून आयोगको पुनर्संरचनासम्बन्धी अध्ययन प्रतिवेदन तयार भइसकेको र त्यसकै आधारमा आयोगलाई कानून मस्यौदा तथा कानुनी अनुसन्धानको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न नेपाल कानून आयोग ऐन, २०६३ संशोधनका लागि प्रारम्भिक मस्यौदा तयार गरिएको पनि मन्त्री गौतमले सार्वजनिक गरेको उपलब्धिमा समावेश छ।











