जीवन बीमामा सावधिक बीमाको दबदबा: कुल व्यवसायको ४० प्रतिशत हिस्सा, अन्यको कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा सावधिक बीमाले ओगटेको छ । जीवन बीमा कम्पनीहरूको व्यवसाय झण्डै एक दर्जन क्षेत्रमा रहे पनि सावधिक बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् ४०.३१ प्रतिशत हिस्सा ओगटेको हो ।
चालु आर्थिक वर्षको २०८२।०८३ को जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको व्यवसाय एक खर्ब ७७ अर्ब ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको ब्यवसाय एक खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले सावधिक बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क आम्दानी गरेका छन् । कम्पनीहरुले सावधिक बीमालेख बिक्री गरी कुल ७१ अर्ब ६० करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् ।
साथै, अग्रिम भुक्तानी सावधिक बीमालेख दोस्रो स्थानमा रहेको छ उक्त बीमालेख बिक्री गरेर कम्पनीहरुले यस अवधिसम्ममा ३३ अर्ब ३६ करोड ४७ लाख प्रिमियम कलेक्सन गरेको छ । जसको हिस्सा १८.७८ प्रतिशत रहेको हो ।
तेस्रोमा बालबच्चा सम्बन्धी सावधिक बीमालेखवापत २९ अर्ब ३२ करोड १७ लाख कुद बीमाशुल्क आर्जन भएको छ । जसको हिस्सा १६.५० प्रतिशत रहेको हो ।
चौथो नम्बरमा रहेको रुपान्तरित सावधिक बीमालेखको हिस्सा १२.४८ प्रतिशत रहेको छ । यसअवधिमा उक्त बीमालेख बिक्री गरेर २० अर्ब ७९ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको हो ।

त्यस्तै, प्राधिकरणका अनुसार एकल बीमाशुल्क बीमालेखबाट ७ अर्ब ५८ करोड ६४ लाख, आजीवन बीमालेखबाट ३ अर्ब ९२ करोड २२ लाख रुपैयाँ, वैदेशिक रोजगार म्यादी बीमालेखबाट ३ अर्ब ८ करोड रुपैयाँ, अन्य बीमालेखबाट ३ अर्ब २७ करोड रुपैयाँ, लघु बीमालेखको ३ अर्ब ८ करोड रुपैयाँ र म्यादी बीमालेखबाट १ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन भएकोे छ ।











