बि.पी. राजमार्गदेखि भेरी करिडोरसम्म सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

२१ असार २०८३, आईतवार १६:५०

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरीले जोखिमलाई मध्यनजर गर्दै केही सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको छ भने केही स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बि.पी. राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रोशी खोलाको बहाव बढ्ने तथा सम्भावित बाढीको जोखिमका कारण सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अर्को सूचना नआएसम्म उक्त सडक प्रयोग नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित महालक्ष्मी खोलामा सडक ढलानको काम भइरहेका कारण कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकखण्ड करिब एक महिनासम्म पूर्ण रूपमा बन्द गरिएको छ। सवारीसाधनलाई सिस्नेरी–दक्षिणकाली मार्ग हुँदै सञ्चालन गरिएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पानीको बहाव बढेपछि जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगार्ड क्षेत्रमा खोलामा पानीको बहाव बढेपछि भेरी करिडोर सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

बझाङको छविसपाथीभेरा गाउँपालिका–१ जालेबगरस्थित जयपृथ्वी राजमार्गमा माथिबाट ढुंगा–माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। स्याङ्जाको वालिङ नगरपालिका–१४ डुम्रिभन्ज्याङस्थित वालिङ–हुवास भित्री पक्की सडकखण्डमा पनि पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ।

कालिकोटको तिलागुफा नगरपालिका–७ छेका बजारस्थित जुम्ला–सुर्खेत सडकखण्डमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउने प्रयास भइरहेका बेला पुनः थप पहिरो खसेपछि सडक अझै सञ्चालनमा आउन नसकेको नेपाल प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*