नेपालको आर्थिक सुधार र वृद्धिबारे आईएमएफको उच्चस्तरीय छलफल, साझेदारी थप मजबुत बनाउने प्रतिबद्धता

२१ असार २०८३, आईतवार १७:०५

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन–चन्द्राको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण सम्पन्न गरेको छ। भ्रमणका क्रममा टोलीले नेपाल सरकारका उच्च अधिकारी, राष्ट्रिय योजना आयोगका पदाधिकारी तथा प्रतिनिधि सभाको अर्थ समितिका सदस्यहरूसँग नेपालको वर्तमान आर्थिक अवस्था, नीतिगत सुधार र आर्थिक साझेदारीका विषयमा विस्तृत छलफल गरेको हो ।

आईएमएफले जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिमण्डलमा नेपालका लागि आईएमएफका मिसन प्रमुख डा. सरवत जहाँ तथा नेपालका लागि आवासीय प्रतिनिधि प्रणव गुप्ता पनि सहभागी थिए। टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो।

भेटका क्रममा नेपालको समष्टिगत आर्थिक अवस्था, आर्थिक वृद्धिलाई दिगो बनाउने रणनीति, रोजगारी सिर्जना, निजी क्षेत्रको भूमिका तथा संरचनागत सुधारलाई प्रभावकारी रूपमा अघि बढाउने नीतिगत प्राथमिकताबारे विचार आदानप्रदान भएको आईएमएफले जनाएको छ। छलफलमा आर्थिक स्थायित्व कायम राख्दै सुधारका कार्यक्रमलाई तीव्रता दिने विषयमा समेत जोड दिइएको थियो।

प्रतिनिधिमण्डलले प्रतिनिधि सभाको अर्थ समितिका सदस्यहरूसँग पनि अन्तरक्रिया गरेको थियो। उक्त कार्यक्रममा आईएमएफ टोलीले नेपालसँगको सहकार्य, हालै सम्पन्न भएको विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रम तथा त्यसबाट प्राप्त उपलब्धि र आगामी सहकार्यका सम्भावनाबारे प्रस्तुतीकरण दिएको थियो।

अन्तरक्रियाका क्रममा सांसदहरूले नेपालको आर्थिक प्राथमिकता, वित्तीय सुधार, लगानी प्रवर्द्धन, सार्वजनिक वित्त व्यवस्थापन तथा दीर्घकालीन आर्थिक विकाससँग सम्बन्धित विषयमा आफ्ना धारणा राखेका थिए। आईएमएफ टोलीले सांसदहरूका सुझाव र चासोलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

भ्रमण सम्पन्न भएपछि उपनिर्देशक डा. सोनाली जैन–चन्द्राले नेपाल सरकारका उच्च अधिकारी तथा संसदीय अर्थ समितिका सदस्यहरूसँग भएको छलफल फलदायी रहेको प्रतिक्रिया दिइन्। उनले विभिन्न सरोकारवालाका दृष्टिकोण सुन्न पाउनु महत्वपूर्ण अनुभव भएको उल्लेख गर्दै नेपालको आर्थिक विकास, नीतिगत सुधार र संस्थागत सुदृढीकरणका प्रयासमा आईएमएफको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरिन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*