पिपुल्स हाइड्रोपावरले दुई कम्पनीमा साढे ७ करोड रुपैयाँ लगानी गर्ने

२२ असार २०८३, सोमबार ११:०८

काठमाडौं । काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले दुई फरक कम्पनीमा साढे ७ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिको असार १९ गते साँझ ५ः३० बजे बसेको बैठकले कम्पनीको बैंक खातामा रहेको लगानीयोग्य मौज्दात रकमबाट उक्त लगानी गर्ने निर्णय गरेको हो। कम्पनीको प्रवन्धपत्रको दफा ५ (ङ) बमोजिम निर्णय गरिएको कम्पनीले जनाएको छ।

निर्णयअनुसार कम्पनीले निर्माणाधीन न्यादी फिदी जलविद्युत आयोजना (२१.४ मेगावाट) प्रवद्र्धन गरिरहेको कम्पनीको १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता शेयर खरिद गर्नेछ। यसका लागि कम्पनीले ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

उक्त आयोजना लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका (साविक बाहुनडाँडा र भुलभुले) क्षेत्रमा निर्माणाधीन रहेको छ। विद्युत विकास विभागबाट सर्वेक्षण तथा उत्पादन अनुमति प्राप्त गरिसकेको आयोजना सन् २०२७ नोभेम्बरभित्र व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्यका साथ अघि बढिरहेको कम्पनीले जनाएको छ।

त्यसैगरी पिपुल्स हाइड्रोपावरले जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडमा पनि लगानी गर्ने निर्णय गरेको छ। कम्पनीले प्रतिकित्ता १२५ रुपैयाँका दरले २ लाख कित्ता शेयर खरिद गर्नेछ जसका लागि २ करोड ५० लाख रुपैयाँ लगानी हुनेछ।

जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड कृषि तथा वनपैदावार क्षेत्रमा लगानी तथा उत्पादन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो। कम्पनीले झापा, अर्घाखाँची, लमजुङ र पर्वतलगायत जिल्लामा कृषि उत्पादन गर्दै आएको तथा आफ्नै माटो र आशापुरी अर्गानिक फार्म ब्रान्डमार्फत बजार विस्तार गरिरहेको छ। यसले निकट भविष्यमा प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्ने तयारी पनि गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*