तेस्रो त्रैमासमा आर्थिक वृद्धि ३.५१ प्रतिशतको अनुमान, कृषि–उद्योगको सुस्तता कायमै

२२ असार २०८३, सोमबार ११:४९

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (माघ–चैत) मा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान गरिएको छ। आधारभूत मूल्यमा गरिएको उक्त अनुमानले अर्थतन्त्रका अधिकांश क्षेत्रमा सुधार देखिए पनि कृषि उत्पादनमा आएको गिरावट, निर्माण गतिविधिको सुस्तता तथा औद्योगिक उत्पादन कमजोर रहँदा आर्थिक वृद्धिदर अपेक्षाभन्दा कम रहेको संकेत गरेको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानअनुसार उक्त वृद्धिदरमा मौसमी प्रभाव समावेश गरिएको छैन। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को विधिअनुसार मौसमी प्रभाव समायोजन गरेर हेर्दा भने दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र केवल ०.५८ प्रतिशतले मात्र विस्तार भएको प्रारम्भिक अनुमान गरिएको छ। यसले आर्थिक गतिविधिमा सुधारका संकेत देखिए पनि विस्तारको गति अझै सुस्त रहेको देखाएको छ।

कार्यालयका अनुसार समीक्षा अवधिमा विद्युत् उत्पादन तथा वितरण, बैंकिङ प्रणालीमा निक्षेप संकलन र कर्जा प्रवाह, निर्जीवन बिमा प्रिमियम संकलन तथा व्यापार सेवामा आएको सुधारले आर्थिक वृद्धिलाई मुख्य रूपमा टेवा दिएको छ। तर निर्माण सामग्रीको आयात घट्नु, धान उत्पादनमा कमी आउनु तथा केही औद्योगिक वस्तुको घरेलु उत्पादन घट्नुले समग्र आर्थिक वृद्धिदरलाई सीमित बनाएको निष्कर्ष निकालिएको छ।

यस अवधिमा अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये १६ वटाको कुल मूल्य अभिवृद्धि सकारात्मक रहने अनुमान गरिएको छ। सबैभन्दा उच्च वृद्धि विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित आपूर्ति क्षेत्रमा २४.८८ प्रतिशत रहने अनुमान गरिएको छ। जलविद्युत् उत्पादन विस्तार र विद्युत् आपूर्तिमा आएको सुधारले यस क्षेत्रमा उल्लेखनीय वृद्धि भएको कार्यालयले जनाएको छ।

वित्तीय तथा बिमा क्षेत्र १०.२७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि, कर्जा प्रवाहमा सुधार तथा निर्जीवन बिमा व्यवसाय विस्तारले यस क्षेत्रको वृद्धिमा उल्लेखनीय योगदान दिएको कार्यालयको भनाइ छ।

यस्तै, यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर ७.८३ प्रतिशत रहने अनुमान गरिएको छ। आयात–निर्यात गतिविधि तथा आन्तरिक ढुवानीमा आएको सुधारले यस क्षेत्रलाई सकारात्मक बनाएको छ। अर्थतन्त्रको दोस्रो ठूलो योगदानकर्ता थोक तथा खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान छ। केही उपभोग्य वस्तुको आयात वृद्धि, व्यापार कारोबार विस्तार तथा सेवा क्षेत्रको चलायमान अवस्थाले व्यापार क्षेत्रको गतिविधि बढाएको कार्यालयले जनाएको छ।

अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने १.५८ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ। धान उत्पादनमा उल्लेखनीय गिरावट आए पनि पशुपालन, तरकारी, फलफूल तथा वनजन्य उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रलाई ऋणात्मक हुनबाट जोगाएको विश्लेषण गरिएको छ।

अर्कोतर्फ, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र १.५९ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ भने औद्योगिक उत्पादन क्षेत्र पनि ०.५४ प्रतिशतले घट्ने देखिएको छ। उत्पादनमूलक उद्योगमा कमजोर गतिविधि तथा निर्माणसँग सम्बन्धित उद्योगको उत्पादनमा कमी आउँदा औद्योगिक क्षेत्र अझै पूर्ण रूपमा पुनरुत्थान हुन नसकेको तथ्यांकले देखाएको छ।

कार्यालयका अनुसार निर्माण सामग्रीको आयात अपेक्षाअनुसार बढ्न नसक्नु, औद्योगिक उत्पादन सुस्त रहनु तथा विशेषगरी धान उत्पादन कमजोर हुनु अर्थतन्त्रको समग्र विस्तार सीमित हुनुका प्रमुख कारण हुन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता, वित्तीय कारोबार विस्तार तथा विद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भए पनि उत्पादनमूलक क्षेत्र, निर्माण क्षेत्र र कृषि क्षेत्रले अपेक्षित गति लिन नसक्दा आर्थिक वृद्धिदर मध्यम स्तरमै सीमित भएको कार्यालयको निष्कर्ष छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*