हिमालयन लाइफका चार सञ्चालकले दिए राजीनामा, दुई नयाँ नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका चार जना सञ्चालक समितिका सदस्यहरूले राजीनामा दिएका छन् भने दुई जना नयाँ सञ्चालक नियुक्त भएका छन्।
कम्पनीका संस्थापक शेयरधनीतर्फको प्रतिनिधित्व गर्ने सञ्चालक सौरभ दुगड र सर्वसाधारण शेयरधनीतर्फको प्रतिनिधित्व गर्ने सञ्चालकत्रय प्रमिला के.सी, सचिन आचार्य र आशिष ढकालले राजीनामा दिएका हुन्। उनीहरूले दिएको राजीनामा असार १९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।
त्यसैगरी सोही सञ्चालक समितिको बैठकले दुईजना नयाँ सञ्चालकहरूलाई बाँकी कार्य अवधिका लागि नियुक्त गर्ने र नियुक्तिको अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय पनि गरेको छ।
बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर १८ निवासी प्रकाश मुनि बज्राचार्यलाई संस्थापक समूहको प्रतिनिधित्व गर्ने गरी र स्याङ्जाको वालिङ वडा नम्बर ७ स्थायी ठेगाना भई ललितपुर महानगरपालिका वडा नम्बर २३ बस्ने सुरक्षा काफ्लेलाई सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्त गरिएको कम्पनी सचिव विकास बस्नेतले जानकारी दिएका छन्।











