पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताको अकुत सम्पत्ति, आमाबाबु र दुई श्रीमतीको नाममा खर्च

काठमाडौं । जिल्ला नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध करिब ३ करोड ४६ लाख रुपैयाँ बराबरको स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्दै अध्यक्ष गुप्ताले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको दाबी गरेको हो।
आयोगका अनुसार गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचित भएको मिति २०७४ असार २० देखि २०७९ असार २८ सम्मको अवधिलाई अनुसन्धानको आधार बनाइएको थियो। सो अवधिमा गुप्ता तथा उनको एकाघर/सगोल परिवारले बैंक मौज्दात, पारिश्रमिक बचत, तलब–भत्ता, कम्पनी आम्दानी, बैंक ऋण तथा कृषि आयलगायत विभिन्न स्रोतबाट कानुनी रूपमा कुल ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ वैध आय आर्जन गरेको देखिएको छ।
तर सोही अवधिमा अन्तिम बैंक मौज्दात, जग्गा खरिद, बैंक ऋणको साँवा–ब्याज भुक्तानी, अध्ययन खर्च, घर निर्माण तथा खरिद, शेयर खरिद, बीमा प्रिमियम, कम्पनीमा लगानी र सवारी साधन खरिदलगायत शीर्षकमा ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ खर्च तथा लगानी गरेको आयोगको अनुसन्धानबाट खुलेको छ।
यसरी वैधानिक आयभन्दा ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ बढी खर्च तथा लगानी भएको र उक्त रकमको वैध स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ। आयोगले यसलाई गैरकानुनी रूपमा आर्जित सम्पत्ति ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अन्तर्गत भ्रष्टाचारको कसुर कायम गरी सोही बराबरको बिगो, कैद, जरिवाना तथा सम्पत्ति जफतको माग गरेको छ।
आयोगले गुप्ताले पदमा रहँदा वार्षिक रूपमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक विवरण लुकाई झुट्टा विवरण पेस गरेको आरोपसमेत लगाएको छ। त्यसका लागि भ्रष्टाचार निवारण ऐनको दफा १६ अनुसार थप कैद, जरिवाना तथा लुकाइएको सम्पत्ति जफतको मागदाबी गरिएको छ।
यसै मुद्दामा गुप्ताका बुबा बंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्ता लाई गैरकानुनी रूपमा आर्जित गरिएको सम्पत्ति उनीहरूको नाममा समेत रहेको देखिएकाले जफत प्रयोजनका लागि मात्र आमाबाबु र दुवै श्रीमतीलाई पनि प्रतिवादी बनाएर मुद्दा चलाएको छ।











