सरकारसँग तर्सिएको शेयर बजारः लगानी बन्दै बालुवामा पानी, यी कारण अझै छ खतरा!

काठमाडौँ । फागुन २१ पछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारसँग राजनीतिक स्थायित्व र आर्थिक सुधारप्रति ठूलो अपेक्षा गरिएको थियो । दुई तिहाइ नजिकको बहुमतमा बनेको सरकारले चैत १३ गतेदेखि कार्यभार सम्हालेको सय दिन पुग्दा पनि नेपाली पुँजीबजारले भने अपेक्षित आत्मविश्वास पाउन सकेको देखिएको छैन । अधिकांश समय बजार दबाबमै रहँदा लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको छ । पछिल्ला कारोबारमा सूचक पुनः राताम्य देखिएको छ । खरिदभन्दा बिक्री चाप हाबी हुँदा धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्दै बजारबाट बाहिरिने रणनीति अपनाएको विश्लेषण गरिएको छ ।
पछिल्ला दिनमा बजारमा देखिएको अनिश्चितताको एउटा प्रमुख कारण नियामक निकाय र अनुसन्धान एजेन्सीहरूको सक्रियता मानिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र कारोबारसँग सम्बन्धित विभिन्न गतिविधिमाथि अनुसन्धान अघि बढाएपछि ठूला कारोबारी समूह सतर्क बनेका छन्। नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार दैनिक उच्च कारोबार गर्ने ब्रोकर कम्पनीहरूको विवरण मागिनुका साथै तीमार्फत हुने ठूला कारोबारको प्रकृति पनि अध्ययन भइरहेको छ। समूहगत कारोबार, इन्साइडर सूचनाको सम्भावित दुरुपयोग र अस्वाभाविक मूल्य वृद्धिसम्बन्धी गतिविधि छानबिनको दायरामा परेपछि बजारमा सक्रिय पूँजीको प्रवाह केही सुस्तिएको देखिन्छ ।
यससँगै असार मसान्त नजिकिँदै जाँदा वित्तीय प्रणालीमा देखिएको मौसमी दबाबले पनि बजारलाई थप कमजोर बनाएको छ। बैंक तथा वित्तीय संस्थासँगको कर्जा समायोजन, मार्जिन कर्जा व्यवस्थापन, हिसाब मिलान तथा अन्य वित्तीय दायित्व पूरा गर्नुपर्ने बाध्यताका कारण धेरै लगानीकर्ताले शेयर बिक्री बढाएका छन्। हरेक वर्ष असार अन्त्यतिर यस्तो प्रवृत्ति देखिए पनि यसपटक बजारलाई माथि तान्ने बलियो सकारात्मक समाचार वा उत्प्रेरक नदेखिएकाले बिक्री चाप अझ तीव्र बनेको विश्लेषकहरू बताउँछन्।
खरिदकर्ता सीमित बन्दा कारोबार रकममा पनि उल्लेखनीय गिरावट आएको छ । केही दिनअघि देखिएको सुधारलाई धेरै विश्लेषकले दीर्घकालीन पुनरुत्थानभन्दा क्षणिक राहतका रूपमा व्याख्या गर्न थालेका छन्। बजारमा नयाँ लगानीकर्ताको प्रवेश कमजोर रहँदा सूचकले स्थिर आधार बनाउन संघर्ष गरिरहेको देखिन्छ। लगानीकर्ताहरू स्पष्ट नीति संकेत नआएसम्म ठूलो जोखिम लिन इच्छुक नरहेको अवस्था देखिएको छ ।
अब बजारको सम्पूर्ण ध्यान नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आगामी मौद्रिक नीतितर्फ केन्द्रित भएको छ। विशेषगरी तरलता व्यवस्थापन, ब्याजदरको दिशा, पूँजी बजारसँग सम्बन्धित कर्जा नीति तथा लगानीमैत्री व्यवस्थाबारे राष्ट्र बैंकले कस्तो संकेत दिन्छ भन्ने विषय बजारको मुख्य चासो बनेको छ। संस्थागत र व्यक्तिगत दुवै प्रकारका लगानीकर्ताले अहिले ‘पर्ख र हेर’ को रणनीति अपनाइरहेको देखिन्छ, जसका कारण नयाँ लगानीको गति सुस्त बनेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२९अकंले घटेर २६२७.११ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको ७५ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । सोमबार वाणिज्य बैंक समूहको १.०६ प्रतिशत, विकास बैंकको ०.३० प्रतिशत र फाइनान्स समूहको १.२४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको घटेको छ ।











