नौं महीनामा जीवन बीमा कम्पनीहरूले कर्मचारी सुविधामा खर्चिए ५ अर्ब १७ करोड रुपैयाँ, कुन कम्पनीले कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालका १४ जीवन बीमा कम्पनीहरूको कर्मचारी सुविधा खर्च (एम्प्लोयी बेनिफिट्स एक्पेन्सेस) बढेको देखिएको छ। यसमा कर्मचारीको तलब, भत्ता, बोनसदेखि कर्मचारीलाई उपलब्ध गराइने अन्य सेवासम्बन्धी खर्च समेत समावेश हुन्छ।
वित्तीय विवरणअनुसार १४ कम्पनीको कुल कर्मचारी सुविधा खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४८ प्रतिशत बढेर ५ अर्ब १७ करोड ९८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ४ अर्ब ६४ करोड ६५ लाख रुपैयाँ रहेको थियो।
कर्मचारी सुविधा खर्चका आधारमा हिमालयन लाइफ सबैभन्दा अगाडि रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७० करोड १ लाख रुपैयाँ कर्मचारी सुविधा खर्च गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो खर्च ६८ करोड २३ लाख रुपैयाँ रहेको थियो।
दोस्रो स्थानमा रहेको नेपाल लाइफले ६७ करोड ४१ लाख रुपैयाँ कर्मचारी सुविधा खर्च गरेको छ। यो खर्च अघिल्लो वर्षको ५७ करोड २८ लाख रुपैयाँको तुलनामा १७.६९ प्रतिशतले बढी हो।

सूर्यज्योति लाइफले ४९ करोड ९७ लाख रुपैयाँ, नेशनल लाइफले ३९ करोड ७९ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ३७ करोड ३ लाख रुपैयाँ कर्मचारी सुविधामा खर्च गरेका छन्। यी कम्पनीहरूको खर्च पनि अघिल्लो वर्षको तुलनामा वृद्धि भएको देखिएको छ।
त्यसैगरी आईएमई लाइफको कर्मचारी सुविधा खर्च ३३ करोड ८ लाख रुपैयाँ, एलआईसी नेपालको ३२ करोड ६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ३१ करोड ९९ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ३१ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
यस्तै सन नेपाल लाइफले २८ करोड ५३ लाख रुपैयाँ, मेट लाइफले २८ करोड १२ लाख रुपैयाँ, सिटिजन लाइफले २७ करोड ६५ लाख रुपैयाँ र एशियन लाइफले २६ करोड ९० लाख रुपैयाँ कर्मचारी सुविधामा खर्च गरेका छन्।
सबैभन्दा कम कर्मचारी सुविधा खर्च राष्ट्रिय जीवन बीमा कम्पनीको रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म १३ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ। यद्यपि प्रतिशतका आधारमा भने यही कम्पनीको कर्मचारी सुविधा खर्च सबैभन्दा धेरै अर्थात् ९३.२९ प्रतिशतले बढेको देखिएको छ।
प्रतिशत वृद्धिका आधारमा रिलायबल नेपाल लाइफ दोस्रो स्थानमा रहेको छ। कम्पनीको कर्मचारी सुविधा खर्च २८.६८ प्रतिशतले बढेको छ। त्यसपछि आईएमई लाइफको १९.२१ प्रतिशत, नेपाल लाइफको १७.६९ प्रतिशत र एलआईसी नेपालको १४.०७ प्रतिशत वृद्धि भएको देखिन्छ।











