बुक बिल्डिङमार्फत आईपीओ ल्याउँदै टाइम फर्मास्युटिकल्स, योग्य संस्थागत लगानीकर्तासँग रोड शो सम्पन्न

काठमाडौँ । टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्राथमिक शेयर (आईपीओ) निष्काशनको प्रक्रिया अघि बढाउँदै योग्य संस्थागत लगानीकर्ताका लागि ‘रोड शो’ कार्यक्रम सम्पन्न गरेको छ।
होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिको सहभागिता रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा सहभागी लगानीकर्तालाई आशयपत्र (इच्छापत्र) फारमसमेत वितरण गरिएको थियो।
कम्पनीका अनुसार जारी पुँजी ५३ करोड रुपैयाँको २०.५ प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरिनेछ। निष्काशन गरिने कुल शेयरमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी शेयर सर्वसाधारणका लागि जारी गरिनेछ।
कम्पनी सचिव तथा अधिवक्ता सुदीप घिमिरेका अनुसार बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम नेपाल स्टक एक्सचेन्ज (नेप्से) र टाइम फर्मास्युटिकल्सबीच यसअघि नै कार्य सञ्चालन सम्झौता सम्पन्न भइसकेको छ। सोही प्रक्रियाअनुसार योग्य संस्थागत लगानीकर्ताले असार २२ देखि २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् भने असार २९ गते बोलपत्र खोलिने कार्यक्रम रहेको उनले जानकारी दिए।
कम्पनीले विभिन्न मूल्यांकन विधिको आधारमा प्रतिशेयर औसत मूल्य ६६६ रुपैयाँ ७८ पैसा निर्धारण गरेको जनाएको छ। योग्य संस्थागत लगानीकर्ताका लागि भने प्रतिशेयर ६०० रुपैयाँलाई आधार मूल्य प्रस्ताव गरिएको छ।
रोड शो कार्यक्रममा कम्पनीका अध्यक्ष डा. जी. नारायण बहादुर क्षेत्रीले कम्पनीको स्थापना, विस्तार र भावी योजनाबारे जानकारी गराउँदै २९ वर्षअघि एक करोड रुपैयाँ पुँजी, २५ कर्मचारी र आठ प्रकारका औषधिबाट उत्पादन सुरु गरेको कम्पनीले हाल ३५० भन्दा बढी कर्मचारीमार्फत २०० भन्दा बढी प्रकारका औषधि उत्पादन तथा बजारीकरण गरिरहेको बताए।
उनले कम्पनीले नेपालमै पहिलो पटक क्लिनिकल ट्रायल सुरु गरेको उल्लेख गर्दै त्यससम्बन्धी प्रतिवेदन पनि छिट्टै सार्वजनिक गरिने जानकारी दिए।
कम्पनीका अनुसार आईपीओसँग सम्बन्धित वित्तीय विवरण, प्रारम्भिक विवरणपत्र तथा मूल्यांकन प्रतिवेदन कम्पनीको वेबसाइट तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको वेबसाइटमार्फत अध्ययन गर्न सकिनेछ।











