मौद्रिक नीतिका लागि लगानीकर्ता संघका पाँच सुझाव, शेयर धितो कर्जादेखि एनआरएन लगानीसम्म सुधारको माग

२२ असार २०८३, सोमबार १६:११

काठमाडौँ । नेपाल पुँजीबजार लगानीकर्ता संघले आगामी मौद्रिक नीतिका लागि पाँचबुँदे सुझाव नेपाल राष्ट्र बैंकलाई बुझाएको छ। संघले मौद्रिक नीतिलाई मुद्रास्फीति नियन्त्रणमा मात्र सीमित नराखी उत्पादन, रोजगारी, निजी लगानी र पुँजीबजारबीच सन्तुलित समन्वय स्थापित गर्ने दिशामा केन्द्रित गर्न आग्रह गरेको छ।

संघले सेयर धितो कर्जाको विद्यमान सीमा पुनरावलोकन गर्न, बैंक तथा वित्तीय संस्थाको पुँजीबजारमा लगानी विस्तारलाई प्रोत्साहन गर्न, लघुवित्त संस्थामाथि लगाइएका अव्यावहारिक बन्देज हटाउन, पुँजीबजारलाई अर्थतन्त्रको प्राथमिक क्षेत्रका रूपमा नीतिगत मान्यता दिन तथा गैरआवासीय नेपाली (एनआरएन) का लागि पूर्ण लगानीमैत्री वातावरण र आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव गभर्नरसमक्ष पेश गरेको जनाएको छ।

संघले नेपालको मौद्रिक तथा वित्तीय स्थायित्व कायम राख्दै समग्र अर्थतन्त्रलाई सन्तुलित, प्रतिस्पर्धी र दिगो दिशातर्फ अघि बढाउन नेपाल राष्ट्र बैंकले निर्वाह गर्दै आएको नेतृत्वप्रति आभार पनि व्यक्त गरेको छ।

संघका अध्यक्ष एसपी चौलागाईंका अनुसार बैंकिङ प्रणालीमा पछिल्लो समय तरलता सुधार हुँदै गएको, ब्याजदर क्रमशः घट्दो अवस्थामा रहेको र निजी क्षेत्रको लगानी विस्तारको आवश्यकता बढ्दै गएको छ। यद्यपि समग्र अर्थतन्त्रमा अझै शिथिलता कायम रहेकाले उद्योगी, व्यवसायी तथा लगानीकर्ताको मनोबल कमजोर बनेको र लगानीयोग्य पुँजी बाहिरिने जोखिम बढेको भन्दै त्यसलाई रोक्न नीतिगत सुधार आवश्यक रहेको उनले बताए।

संघले आगामी मौद्रिक नीतिले वित्तीय स्थायित्वसँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने, उत्पादन र रोजगारी वृद्धि गर्ने तथा निजी क्षेत्रको लगानी विस्तारमा सहयोग पुग्ने व्यवस्था समेट्नुपर्ने धारणा राखेको छ।

संघका अनुसार पुँजीबजार सीमित समूहको कारोबार गर्ने माध्यम मात्र नभई लाखौँ नागरिकको बचतलाई उद्योग, ऊर्जा, पूर्वाधार, पर्यटन, बैंकिङ, बीमा तथा अन्य उत्पादनशील क्षेत्रमा परिचालन गर्ने रणनीतिक वित्तीय पूर्वाधार हो। त्यसैले दीर्घकालीन आर्थिक समृद्धिका लागि पुँजीबजारलाई थप बलियो बनाउने नीति आवश्यक रहेको संघको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*