यूएईद्वारा १११ नेपाली कैदीलाई आममाफी

काठमाडौं। नेपालीहरूको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल अधा २०२६ को अवसरमा १११ नेपाली कैदीलाई आममाफी दिएको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधका आधारमा उक्त निर्णय भएको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार नेपाल र यूएईबीच रहेको घनिष्ठ मित्रता, आपसी सद्भाव र द्विपक्षीय सम्बन्धको प्रतीकस्वरूप यूएई सरकारले १११ नेपाली कैदीलाई आममाफी दिएको हो। मन्त्रालयले यस निर्णयप्रति यूएई सरकारप्रति उच्च सम्मान र कृतज्ञता व्यक्त गरेको छ।
आममाफी प्राप्त गरेका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनबमोजिम आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्किन सक्ने मन्त्रालयले जनाएको छ।











