वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने व्यवस्था गरेको छ।
विदेशी मुद्रा खरिदबाट बैंकिङ प्रणालीमा आउने तरलताको व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिने व्यवस्था गरिएको छ।
यससँगै राष्ट्र बैंकले विदेशी मुद्रा खरिदकै समयमा स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने नीतिगत व्यवस्था पनि लागू गर्ने जनाएको छ। विदेशी मुद्रा खरिदपछि बैंकिङ प्रणालीमा एकैपटक अत्यधिक तरलता प्रवेश हुन नदिई बजारमा मुद्रा आपूर्ति सन्तुलित राख्न राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।
त्यसैगरी राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंकदरलाई यथावत राख्दै अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधासम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइने जनाएको छ।











