वाणिज्य बैंकलाई विदेशी बन्डमा लगानी गर्न नीतिगत सहजता गर्ने छौंः प्रवक्ता गुरु

२३ असार २०८३, मंगलवार १७:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद पौडेलले वाणिज्य बैंकहरूलाई विदेशमा जारी हुने बन्डमा लगानी गर्न नीतिगत सहजता गरिने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको मौद्रिक नीतिपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली वाणिज्य बैंकहरूलाई विदेशमा जारी हुने बन्डमा लगानी गर्न सक्ने व्यवस्था मिलाइने जानकारी दिए।

“वाणिज्य बैंकहरूलाई विदेशका बन्डमा लगानी गर्ने विषयमा सहयोग गर्छौं। विदेशी मुद्रामा खाता खोल्न सकिने र डिबेन्चरमा लगानी गर्न सकिने व्यवस्था नीतिगत रूपमा गरिनेछ।” उनले भने।

उनले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने उद्देश्यले मौद्रिक नीति ल्याइएको पनि बताए।

“सरकारले अपनाएको ७ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउने उद्देश्यले हामीले यो मौद्रिक नीति ल्याएका हौं। तरलता व्यवस्थापन गर्दै करिब ६० खर्ब रुपैयाँ कर्जा विस्तारलाई सहयोग पुग्ने गरी नीति ल्याएका छौं।” उनले भने।

उनका अनुसार कर्जा प्रवाहलाई उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्ने, कर्जा वर्गीकरण व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने उद्देश्यले मौद्रिक नीति तयार गरिएको हो। “कर्जा प्रवाहलाई उत्पादनमा जोड्ने गरी मौद्रिक नीति ल्याएका छौं।” उनले बताए।

कालोसूची व्यवस्थापनलाई पनि थप सहज बनाइने उनको भनाइ छ। “कालोसूची व्यवस्थापनलाई सहजीकरण गर्नेछौं। बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने गरी पनि काम गरेका छौं।”

राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिले वित्तीय प्रणालीलाई थप चलायमान बनाउँदै उत्पादन, लगानी र आर्थिक गतिविधि विस्तारमार्फत समग्र अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*